उपत्यकाका क्याम्पसमा नेविसंघले ताला लगायो

96
काठमाडाैं – नेपाल विद्यार्थी संघ (नेविसंघ)  ले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ।

त्रिभुवन विश्वविद्यालयले नेविसंघका सात जनालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको जनाएका छन्। त्रिचन्द्र, आरआर, पाटन, शंकरदेव, सानोठिमीलगायत क्याम्पसमा शुक्रबार तालाबन्दी गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए।

‘आफ्ना जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने त्रिविका उपकुलपतिलाई हामी छाड्ने छैनौं,’ भट्टराईले भनेका छन्, ‘केहि प्रहरी अधिकारीहरूले नियतवश विद्यार्थीहरूलाई दु:ख दिने काम गरिरहेका छन्। यसको हिसाव नेविसंघले राखेको छ।’

नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार हिरासतमा रहेका नेविसंघ नेताको रिहाइको माग गर्दै क्याम्पसहरूमा तालाबन्दी गरिएको हो। ‘काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका नेताहरू तुरून्त रिहाइ हुनुपर्छ,’ उनले भने, ‘झुटा मुद्दा खारेज गर्नुपर्छ।’ त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गर्न पनि उनले माग गरेका छन्।

पोखरालगायत अरू विश्वविद्यालयमा रिक्त रहेको पदाधिकारी तुरून्तै नियुक्त गर्न महामन्त्री तिमिल्सिनाले माग गरेका छन्।नेविसंघ अध्यक्ष राजिव ढुंगानाले शुक्रबार विज्ञप्ति निकालेर पक्राउ परेका नेविसंघ नेतालाई रिहाइ गर्न माग गरेका छन्। ‘काठमाडौं र वीरगञ्जमा पक्राउ परेका नेताहरूलाई तुरून्तै रिहाइ गर्नुपर्छ। झुटा मुद्दाको सहाराले फसाउन खोजिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं,’ उनले भनेका छन्।

त्रिविमा नेविसंघले उपकुलपति कार्यालयसहित कार्यालयहरूमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका हुन्। यस्तै वीरगञ्जमा प्रमुख जिल्ला अधिकारीकहाँ ज्ञापन पत्र बुझाउन जाँदै गरेकालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here