हिन्दु महिलाकाे हरितालिका तीज मनाउँदै

728

काठमाडाैंं  – आज हरितालिका तीज । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने नेपाली महिलाहरुको यो पर्व आज  महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको  कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गरेकी छिन् ।

 भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गरेकी छिन् ।

यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने मेरो विश्वास छ भन्दै  सन्देशमा भनिएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।”

राष्ट्रपति भण्डारीले  तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक र  जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here