सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री

141

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो । “संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ” शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “विद्यालय जाने उमेर नाघेका नागरिकहरुका निमित्त जीवन उपयोगी शिक्षाका अवसरहरु प्रदान गर्दै जीवनपर्यन्त सिकाईका अवसरहरु जुटाउने विषय समेत सरकारको प्राथमिकतामा छ ।“

साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ भन्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आधारभूत र माध्यमिक शिक्षा लगायत अनौपचारिक खुला तथा वैकल्पिक निरन्तर सिकाई, विशेष शिक्षा र समुदायमा सञ्चालन हुने सिकाईका कार्यक्रम सम्बन्धी नीति, कानुन, योजना कार्यान्वयन अनुगमन मूल्याङ्कन नियमन लगायतका कार्यहरु स्थानीय तहले गर्नेगरी तोकिएको छ ।” सरकारले १५ वर्ष र सोभन्दा माथि उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवनपर्यन्त सिकाईको आधार तयार गर्ने उद्देश्य राखेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “मुलुकलाई अविकासबाट विकासतिर, विपन्नताबाट सम्पन्नतातिर आंशिक साक्षरताबाट पूर्ण साक्षरतातर्फ अग्रसर गराइरहेका छौं, त्यसैमार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो संकल्प छ ।” “साक्षर नेपाल नै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो संकल्प हो” शुभकामना सन्देशमा थप्नुभएको छ, “दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रियस्तरको लक्ष्य हासिल गर्न हामीले कामको रफ्तार बृद्धि गर्नुपर्नेछ ।“ अन्तर्राष्ट्रिय स्तरमा गरिएको प्रतिवद्धता कार्यान्वयन गर्न उद्देश्य अनुरुप साक्षर नेपालको अभियान सरकारले अगाडि बढाइरहेको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभएको छ । त्यस्तै, मुलुक कोभिड १९ को सामना गरिरहेकाले जनता र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा यसले पु¥याएको क्षतिबाट माथि उठ्ने चुनौति हाम्रो सामु रहेको प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “हालसम्म ५३ जिल्ला पूर्णरुपमा साक्षर घोषणा भइसकेका छन् ।

आगामी दिनमा बाँकी रहेका जिल्लाका साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ ।” हामी सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौं प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, “आजको संकटसँगै ५४ औं साक्षरता दिवसको अवसरमा साक्षरता र सामाजिक सचेतनाका साथ कोभिड १९ को संकट सामना गरौं ।”  गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here