महानगरीय प्रहरी कार्यालय रानीपोखरीले असोज १ र २ गते भएका दुई घटनाको अनुसन्धानका लागि शनिबार समिति गठन गरेको हो।
प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जनाए ।
उनका अनुसार समितिमा प्रहरी नायब उपरीक्षक भवेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल छन्।
समितिलाई एक सातासम्म दुवै घटनाको छानविन गरी दोषी देखिएका प्रहरीमाथि कारबाही गर्न कार्यादेश दिइएको पोखरेलले जनाए ।
‘समितिलाई एक साताभित्र छानविन गरी प्रहरी अधिकारको दुरुपयोग गरेको देखिएमा कारबाही गर्न कार्यादेश दिइएको छ,’ उनले भने।
असोज १ गते बबरमहलमा हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीले कुटपिट गरेको थियो। घिसिङको समर्थनमा आएकाहरूलाई नियन्त्रण गर्ने क्रममा गुप्तालाई प्रहरीले कुटपिट गरेको थियो।
यस्तै, शुक्रबार घिसिङको समर्थनमै बुद्धनगरमा निस्केका उक्त समुहकै सदस्य मनिष श्रेष्ठको प्रहरीले टाउको फुटाइदिएको थियो। प्रहरीले भाग्ने क्रममा उनी लडेर घाइते भएको जनाए पनि भिडिओमा भने प्रहरीले टाउकोमा लाठीले हिर्काएको देखिएको थियो।