राजनीतिको गर्भमा नयाँ अभियान

123
–नारायण नेपाल

के यो सरकारको चरित्र जनपक्षीय छ ? के यो सरकार कम्युनिष्टकै हो ? के यो सरकारसँग राष्ट्रिय विवेक ज्युँदो छ ? के यी सत्ताधारीहरू देश र जनताप्रति जवाफदेही छन् ? कम्युनिस्ट पार्टीको विचार, राजनीति, सिद्धान्तको कसिमा घोषणापत्र केलाएर यी प्रश्नहरूको उत्तर खोज्ने र नेपाली कम्युनिस्ट ट्रेडमार्कको व्यापार गर्ने दलालहरूको चरित्रको लेखाजोखा गर्ने हो भने आकाश पातालको फरक भेटिन्छ । यतिबेला यहाँ यो व्यवस्था ठीक छैन भन्ने जनमत दबाइएको छ । समाजको भ्रष्ट चरित्रले जनपक्षीय राजनीतिको आधारलाई भत्काउँदै लगेको छ । सामाजिक अगुवा मानिने बौद्धिकहरूको पाखण्डी र भ्रष्ट चरित्रको जगजगी छ । श्रमिकजनको पसिना र गरिब जनताको रगतको आहालमा जन्मिएको नेपाली राजनीतिक व्यवस्थाको पछिल्लो चित्रणले हजारौँ प्रश्नहरू उब्जाएको छ । आज देश प्रतिगमनको ओरालो यात्रामा गएको छ । राष्ट्रघात, जनघात र भ्रष्टाचारको आहालमा देश डुबेको छ । योबेला नेपालको शासकीय चरित्रलाई नियाल्ने हो भने आजको गणतन्त्रमाथि हजारौँ प्रश्न उब्जिएका छन् । त्यस्तै भावको यो कवितांश ः

जंगबहादुरको जंग

महेन्द्रको पञ्चायत

विपीको समाजवाद

मदनको जनवाद

पुष्पकमलको प्रचण्डपथ

आजको गणतन्त्र

तपाईँलाई कस्तो लाग्छ कमरेड ? (कविता ः कस्तो लाग्छ कमेडबाट)

यो बेला मलिन स्वरले कसैले प्रश्न उठाउने शाहस देखायो भने केही प्रश्नहरू नेपाली समाजमा जन्मिरहेका छन् । के सरकारमा बस्नेहरु मात्रै कम्युनिस्ट हुन त ? के यो देशमा सच्चा कम्युनिष्टहरुले देश र जनताको लागी केही सोचेको छैन होला त ? के यो देशमा मान्छेले मान्छे भएर बाँच्न पाउने अवस्था छ त ? यो उदास मौसमको कम्युनिस्ट राजनीति र फाँसीवादी चरित्रको सामाजिक घटनाक्रमका परिदृष्यहरूले पट्यारलाग्दो दैनिकी बनाएको छ भने नेपाली समाजको दर्दनाक चित्रण गरेको छ ।

यो देशको राजनीतिक रंगमञ्चमा भ्रष्टाचार, निरासा र कुण्ठाको हुण्डरीमात्रै मौलाएको छैन, जनपक्षीय आसाका मुनाहरू पनि पलाएका छन् । आजको नेपाली कम्युनस्टि राजनीतिको गर्भमा के खिचडी पाक्दै होला ? हामीले केही अनुमान लगाउन सक्ने आधारहरुको बाछिटा सामाजिक सञ्जालमा देखा परेको छ । तिनै बाछिटाहरूलाई नियालेर केही लेखाजोखा भने पक्कै गर्न सकिन्छ । माओवादी आन्दोलनका एक नेता तथा यतिबेला जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईका विश्वास पात्र मानिएका नेता गंगानारायण श्रेष्ठले भदौ ३० गते सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेख्नुभएको थियो, ‘आदरणीय नेताहरू ! स्वार्थ त्याग । अहम् छाड । त्याग बलिदान सम्झ । मुद्दाहरू दह्रोगरि समाऊ । आत्मसमीक्षा गर । एकपटक फेरि बृहत् ध्रुवीकरणका लागि इमानदार प्रयत्न गर । समयको गतिलाई पक्र ।’

नेता श्रेष्ठको धारणाजस्तै केही घोषणापत्र र केही प्रस्तावहरू नेकपा(वोल्शेभिक)को ०७७ भदौमा बसेको बैठकले क्रान्तिकारी जनपक्षीय कम्युनिस्टहरूको बृहत् एकताको लागि क. विप्लव नेतृत्वको नेकपा, क किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), क. ऋषि, क. लोकनारायण नेतृत्वको नेकपा, क. किराँती नेतृत्वको नेकपा(माओवादी केन्द्र), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, क. सिपि मैनाली नेतृत्वको नेकपा(माले), क. रोहित नेतृत्वको नेमकिपा, सरकारमा रहेको  नेकपा(नेकपा) भित्रका क्रान्तिकारीहरू, नेकपा(मसाल) भित्रका क्रान्तिकारीहरू, र स्वतन्त्र रहनु भएका वामपन्थीहरू लाई पठाएको थियो । जुन सामाजिक सञ्जालमा भेट्न सकिन्छ । जसको प्रस्ताव नं. १ को बुँदालाई लिऊँ, जहाँ लेखिएको छ, ‘नेपाली क्रान्ति अधुरो रहन गएको छ । नेपाली बहुसंख्यक जनताले संघर्ष गरेर ल्याएको गणतन्त्र मुठ्ठिभर दलाल पूँजीपति वर्ग, नोकरशाही पूँजीपति वर्ग, सामन्ती अवशेष वर्ग र साम्राज्यवादी पूँजीवादी वर्गले हत्याएर कब्जामा लिएको छ र सत्तारुढ भएको छ । बहुसंख्यक जनताको श्रम, पसिना र देशको सम्पतिमाथि उनीहरुले लुट मच्चाइरहेका छन् । बहुसंख्यक जनतामाथि शोषण उत्पीडन उनीहरुले सुरु गरेका छन् । सत्तारुढ डबल नेकपा(नेकपा) को मूल नेतृत्व तथा वहुसंख्यक नेताहरुको वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पूँजीपति वर्गमा रुपान्तरण भएको छ । अहिलेको जनविरोधी प्रतिक्रियावादी राष्ट्रघाती मेन्शेभिक सरकार तथा वर्तमान सत्ता व्यवस्थाको विरुद्ध संघर्ष गरी बहुसंख्यक जनताको “वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र” स्थापना गर्नु कम्युनिष्ट पार्टीको तात्कालिक कार्यभार हो । वैज्ञानिक समाजवाद र साम्यवाद त्यसपछिको लक्ष्य हो ।’ नेकपा वोल्शेभिकको यो घोषणाजस्तै केही वामपन्थी बुद्धीजिवीहरूले सामाजिक सञ्जालको उपयोग गर्दै माक्र्सवादी एकता अभियान नामक एक नयाँ संगठनको जन्म दिएका छन् । २९ भदौमा भएको यो घोषणामा उनीहरूले अधुरो रहेको जनगणतान्त्रिक क्रान्ति पूरा गर्दै संविधानको भावनाबमोजिम समाजवादी क्रान्तितर्फ अघि बढ्न सशक्त र संयुक्त जनआन्दोलन आवश्यक देखिएको बताएका छन् ।

वापन्थी बुद्धिजीवीहरूको यो गन्थनमन्थनजस्तै उही लयमा सामाजिक सञ्जालसमेत सरकारको भ्रष्टाचार तथा राष्ट्रघाती चरित्रको विरुद्ध उर्लिरहेको अनुभूति गर्न सकिन्छ । जन्मदै रोगी नेपालको संविधान २०७२ ले देशलाई अराजकता र प्रगिमनको भूमरीतिर क्रमशः धकेलिरहेको देखिन्छ । रोजगारी गुमाएर खुल्ला मञ्चमा एक टपरी भात थाप्ने गरिबहरूको सामू टुँडिखेलमा हेलिकप्टरबाट फुल बर्साएर मनाएको संविधानदिवस आफैँमा औचित्यहीन नाटक हो । गरिबको पेटमा लात मार्ने सरकार सडकको किनारामा रंगरोगन गर्दै फूल रोपेर सम्वृद्धिको गुड डे हाँक्छ र समाजवादको पाठ पठाउँछ । यस्तै संविधानको पाँचौ वर्षघाट मनाउँदाको यो परिदृष्यसँगै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका हजारौँ कार्यकर्ता जेलनेलको सिकार भएका छन् । राजनीतिक प्रतिबन्ध लागेको नेकपाको पछिल्लो धारणा असोज ४ गते महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले विज्ञप्तिमार्फत जारी गरेका छन् । जसमा भनिएको छ, आजदेशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संसोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरू राज्यसत्ताको पूर्व परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल अत्यन्त जरुरी हुन गएको छ । हाम्रो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ ।‘

पछिल्लो हप्ता नेपाली राजनीतिमा देखिएका घटनाक्रमको केही सङ्केतका रूपमा यी तथ्यहरूलाई लिन सकिन्छ । माथिका नमुना बाछिटाहरुको थोपा–थोपा केलाएर शल्यक्रिया गर्ने हो भने केही बहस जरुर उठान भएको छ । ‘कुरा खस्रा मिठो हुन्छ’ भन्ने उखानजस्तै यो अभिायनमा केही खस्रा प्रश्नहरू हामीसामु देखा परेका छन् । के हामी घोषणा गर्न सक्छौँ त इतिहासको कठघरामा उभिएर अहम्को बिस्कुन सुकाउन बन्द गरौँ, विचारको भकारीमा एकीकृत हुन इमान्दार पहलकदमी लिऔँ । आजको वामपन्थी आन्दोलनमा इमानको खडेरी लागेको बेला मोह, लालसा र अहङ्कारले क्रान्तिको खेत बाँझै राख्ने परम्पराबाट कम्तीमा पुन ः एक हात त परै बसौँ । यो एक हात पर बस्नुको अर्थ नयाँ बहसमा एक हात अघि सरेर सहभागी हुनु पनि हो भन्ने यथार्थलाई हृदयंगम गर्ने शाहस हामीले बटुलेका छौँ ? आज विघठन, विसर्जन र अतिवादको सिकार भएको नेपाली क्रान्तिकारी धारलाई पुन ः नयाँ शिराबाट उठाउन सजिलो छैन तर पुन ः जोडदार प्रयास गरे असफल पनि हुनेछैन । के हामी निःस्वार्थ कम्मर कसेर यो बहसको थालनी गर्दैछौँ ? एकै स्वरमा सबैले भनौँ ः कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन भनेर ?

किलोमा बाँधिएको गोरुले खेत जोत्दैन । यो सबैले जानेमानेकै कुरा हो । आखिर खेत जोत्न गोरु हलोमै नारिन पर्दछ । हाम्रो नविन क्रान्तिको हली को हो ? अनौ कसको हातमा छ ? गोरु को को हुन् ? यसको स्पष्टतामा धेरै कुरा निर्भर हुन्छ । पक्कै पनि क्रान्तिको विचारधारागत हलोमा नारिने सबै गोरु आफैँमा खेत जोत्न सबल नहुन पनि सक्छन् । यो पनि इतिहासले पुष्टि गरेको तथ्य हो । यो अवस्थामा बलियो गोरुले कमजोर गोरुलाई तानेर घिसारेर पनि केही हदसम्म जोत्ने प्रक्रिया अगाडि बढाउँछ वा बढाउन सक्छ । एक मेलो मार्न पनि सक्छ ।

हाम्रो मौलिक चरित्रको चित्रण गर्दै भन्नुपर्दा हलो अड्काएर गोरु चुट्न खोज्ने प्रवृत्तिको ठोस किटानी भएको अवस्थामा बीज छर्ने र भर्ने अरु धेरै प्रक्रिया कार्य क्रमिक रूपमा अगाडि बढ्न सक्दछ । त्यसले नेपाली क्रान्तिको खेतीपाती केही मौलाउने सम्भावनालाई हामीले नकार्न सक्दैनौँ । ऐक्यबद्धता, ध्रुवीकरण, सहभागिता र नेतृत्व यी चार पक्ष नयाँ परिवेश र सन्दर्भका लागि ज्यादै महत्वपूर्ण आयाम हुन् । सैद्धान्तिक वैचारिक रूपमा समानताको मियो सम्हालेपछि नीति, कार्यक्रम, सङ्गठन र संरचना प्रधान नभएर गौण हुन्छन् । त्यो मालेमावादी मान्यता नै हो ।

जति डोरी बाटे पनि गाँठो उही भनेजस्तै निष्कर्ष सधैँ छोटो नै हुन्छ । वा त्यो एक वाक्यमा निर्माण हुन पनि सक्दछ । हामी जोडिने वा सदाबहार अलग हुने ? हामी औँला र औँलामात्र भएर क्रान्तिको पुकार÷याचना मात्र गर्ने वा मुठ्ठी र मुड्को भएर नयाँ र सङ्गठित विकल्पको आह्वान गर्ने ? इतिहासको कठघरामा समयले हामीलाई उभ्याएको छ, के हामी यी प्रश्नहरूको जवाफ दिन तयार छौँ ? कतै महाभारतकालीन कथामा वर्णन गरिएझैँ कौरवहरूले थापेको खालमा सकुनीको पासा त पल्टिने खतरा छैन ? तर जे हुन्छ सकारात्मक प्रयत्नले सार्थकता पाउनैपर्छ । तत्कालीन नेकपा माओवादीको चर्चित चुनवाङ बैठकमा प्रस्तुत गीतको सान्दर्भिकता अझै नसकिएको आभाष हुन्छ । हेरौँ । केही हरफ ःटुटफुट खण्डित कुरा नगर

आत्मसमर्पणको कुरा नगर

एकढिक्का एकताको कुरा गर

वीरताको कुरा गर

कार्ल माक्र्सले अन्तराष्ट्रिय मजदुर संघको महापरिषद्को पहिलो आह्वानपत्रमा उल्लेख गर्दै लेख्नुभएको थियो, ‘हामी सम्पूर्ण हृदयले तपाईंहरूको यस प्रतिरोधको समर्थन गर्दछौँ । न विगुलको आवाजको, न तोपको पड्काईले न विजयले न त पराजयले नै हामीलाई देशका सबै मजदुरलाई ऐक्यबद्ध तुल्याउने हाम्रो सामूहिक उद्देश्यबाट विमुख तुल्याउन सक्नेछ ।’ माक्र्सको शब्दसापटीमा अन्तर्राष्ट्रिय मजदुर संघको बर्लिन शाखाले पेरिस घोषणापत्रप्रति जनाएको प्रतिक्रियाजस्तै हामी पनि भन्न सक्छौँ तपाईंहरूको यी प्रतिक्रियाहरू तन, मन, वचन र कर्मले श्रमिक जनताको मुक्ति र देश परिवर्तनको सपनाहरूलाई साकार पार्ने नयाँ शक्ति निर्माणको युगान्तकारी अभियानबाट कसैले पनि विमुख बनाउन सक्नेछैन । (५ असोज २०७७)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here