कोरोना महामारी पछि आफ्नै निर्देशनमा चलचित्र बनाउनेछु : अभिनेता हमाल

95

काठमाडाैं  – एक समय नेपाली  सिने जगतमा  एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । आफूले आश गरेका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ को असफलतापछि चलचित्र छनोटमा गम्भीर भएका उनी अब हतारमा फिल्म गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । यसैले उनी आफ्नो भूमिका शक्तिशाली भएको चलचित्र कुरेर बसेका छन् । 

चार वर्षदेखि फिल्ममा काम नगरे पनि अभिनेता हमालको व्यस्तता भने उस्तै छ । कोरोना महामारीभन्दा अगाडि उनलाई देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा भ्याइनभ्याइ थियो । एपी वान एचडी टेलिभिजनद्वारा सञ्चालित ‘को बन्छ करोडपति’ रियालिटी शोका होस्ट समेत रहेका उनले लकडाउनयता कान्तिपुर टेलिभिजनमा ‘जातको प्रश्न’ नामक टक शो चलाउँदै आएका छन् ।

दर्शकलाई आफ्नो न्यास्रो नहोस् भन्नका लागि उनी फुर्सदको समयमा म्यूजिक भिडियोमा पनि अभिनय गरिरहेका हुन्छन् । लकडाउन र निषेधाज्ञामा मात्र आफूलाई एक दर्जनभन्दा बढी म्यूजिक भिडियोबाट अफर आएको हमाल सुनाउँछन् । अहिले दर्शकले फिल्म हेर्न नपाएका कारण आफूले केही समयको ग्यापमा म्यूजिक भिडियोमा काम गर्ने सोच बनाएको उनको धारणा छ ।

कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएकाले तत्काल सिनेमा हल खोल्नु उचित नहुने पनि अभिनेता हमालले बताएका छन् । आइतवार एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘स्थिति सामान्य नहुँदासम्म सिनेमा हल खोल्नु हुन्न जस्तो लाग्छ । हामीले सबैभन्दा पहिला दर्शकको स्वास्थ्यलाई ध्यान दिनुपर्छ । परिस्थिति सहज भएपछि सतर्कतापूर्वक सिनेमा हल खोल्नुपर्छ, अहिले राम्रो हुन्न ।’

तत्काल सिनेमा हल खोलेको अवस्थामा भोलीका दिनमा आउने समस्याको बारेमा पनि गम्भीर भएर सोच्नुपर्ने उनको सुझाव छ । उनले भने- ‘कोभिड १९ का कारण अहिले हरेक क्षेत्रमा समस्या छ । चलचित्र क्षेत्रमा पनि यसले ठूलो प्रभाव पारेको छ । तर, अहिले नै सिनेमा हल खोल्दा संक्रमण थप फैलिन सक्छ । सिनेमा हल भीडभाड हुने ठाउँ भएकाले संक्रमणको जोखिम उच्च रहन्छ ।’

अभिनेता हमालले कोरोना महामारीपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने पनि जनाएका छन् । अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको उनले बताए । चलचित्रमा हमाल स्वयंको अभिनय रहनेछ । यो फिल्मभन्दा अगाडि उनी केही म्यूजिक भिडियोमा काम गर्ने योजनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here