मष्टो परम्परा, खस जाति र “क्षत्री” नामको हिन्दू पुच्छर ?

383

—चन्द्रप्रकाश बानियाँ

भेरी तरेर हिमालको काखैकाख पूर्वतिर लागेका खसहरुले जुनसुकै धर्म, संस्कार, संस्कृति र सामाजिक रीति परम्पराहरु अवलम्बन गरे पनि “मष्टा” लाई कुलदेवता मानेर पुज्ने चलनलाई निरन्तरता दिएको देखिन्छ । मष्टा भनेको खसहरुका कुलदेवता हुन् भन्ने मान्यता भेरीपूर्वको समाजिक मान्यता बनेको छ । कुनै थर वा जातविशेषले देवी वा वराहलाई कुलदेवता मान्ने गरेको पनि देखिन्छ । देवी वा वराहलाई कुलदेवता मान्ने थरगोत्रीहरुले पनि आफ्नो कुलदेवता वराहसँगै देवी र मष्टालाई पनि पूजाभाग छुट्टयाउने परम्परा रहेको छ । वराहलाई कुलदेवता मान्ने खसहरुको संख्या देवी र मष्टालाई कुलदेवता मान्नेहरुको तुलनामा निकै कम रहेको छ ।

खस जाति हो । जाति एउटा, कुलदेवता तीनवटा कसरी भए होलान् ? किन सबैले एउटै कुलदेवता नमानेका होलन् ? अलग  कुलदेवता मान्नेहरु अलग जाति नस्लका पो होलान् कि ? यी यस्ता स्वभाविक प्रश्नहरु सबैका मनमा उठ्नु स्वाभाविक हो । यी प्रश्नहरुको किटानी उत्तर दिनु कठिन छ । बरु सबै खसहरुका कुलदेवता “मष्टा” नै हुन् । देवी वा वराहलाई कुल मान्ने चलन अन्य जाति समुदायसँग घुलमिल हुने सन्दर्भमा अनुकरण गरिएको हो कि भनेर अनुमान गर्न सकिन्छ । खासगरेर ठकुरी समुदाय र कुमाउनी ब्राह्मणहरुले देवी पुज्छन् । थोरै क्षत्रीहरुले पनि देवी मानेको देखिन्छ । वराह मगर देवता मानिन्छन् । डा. बालकृष्ण पोखरेले आफ्नो थरगोत्रले वराहलाई कुलदेवता मान्ने हुनाले “म मगरमूलको खस हुँ” भनेका हुन् । त्यस अर्थमा के भन्न सकिन्छ भने खसहरुको कुलदेवता त मष्टा नै हुन् तर कालक्रममा केही खसहरुले आफ्ना कुलदेवता फेरेर “देवी” वा “वराह” मान्न थालोका हुन सक्छन् ।

भेरी पश्चिम र महाकालीपूर्वको पहाडी भेकमा बसोबास गर्ने अधिकांश खसहरुको कुलदेवता विभिन्न नामरुपका “मष्टा” मानिन्छन् । एउटा नामको मष्टालाई कुलदेवता र अर्को मष्टालाई इष्टदेवता मान्ने चलन पनि छ । पृथ्वी (जग्गाजमिन) रक्षक भनेर क्षत्रपाल मष्टो पुज्ने चलन पनि छ । कर्णाली, डोटी क्षेत्रका ग्रामिण बस्तीहरुमा यति धेरै मष्टाका स्थान र माडौं स्थापना भएका छन् कि तिनका नाम भेद पनि अनेक रङ्ग, रुप र वान्कीका छन् । त्यस भेकमा मष्टाको हैसियत कुलदेवताको मात्रै होइन “ग्राम्य देवता”को समेत रहेको छ । भेरीपूर्वका मष्टाका मन्दिरमा सम्बन्धित थरगोत्रले मात्र पूजा दिने चलन छ । भेरी पश्चिममा भने मष्टो देवता सबैले पूजा गर्ने साझा देवस्थल मान्न्छिन् ।

खसान क्षेत्रमा मष्टाले यति धेरै व्यापकता ओगटेको छ कि गाउँ गाउँमा स्थापित मन्दिर मात्रै होइन अग्ला थुम्का र चुचुराहरुले समते मष्टाको नाम पाएका छन् । वास्तवमा यत्र तत्र सर्वत्र मष्टा व्याप्त मानिनुको कारण भने यतिखेरसम्म ओझेलमा पर्न थालिसकेको छ । खासगरेर दक्षिणबाट उक्लेको हिन्दु धर्म सस्कृतिको संक्रमणले मष्टो मान्यतालाई किनारमा धकेलिदिएको हो । मष्टोको प्राचीन मान्यता मानव रक्षक देवको रुपमा थियो अथवा त्यो यतिखेरको मात्र बुझाई हो भन्ने कुरा भने विचारणीय छ । वास्तवमा मष्टो मान्यता एउटा विस्तृत र विकसित अवधारणा थियो कि भनेर मान्न सकिने आधार फेला पर्छन् । मष्टा भनेको सर्वव्यापी, निराकार र अजन्मा देवता हुन् भन्ने मान्यता हो । हिन्दु धर्मले मानेको परब्रह्म र पश्चिमा समाजले मानेको एकेश्वरको मान्यता मष्टो परम्पराले पनि पछ्याएको देखिन्छ । मष्टो परम्परा यथार्थमा हिन्दू, मुस्लिम वा क्रिश्चियानिटीको इश्वरीय मान्यताभन्दा विकसित र तथ्यसंगत थियो । क्रिश्चियानीटीमा इसालाई इश्वरपुत्र मानिन्छ, मुस्लि धर्ममा मुहम्मदलाई इश्वरदूत मानिएको छ, हिन्दू धर्ममा परमात्माले अनेक रुपाकारमा अवतार लिन्छन् भन्ने मान्यता राखिन्छ तर मष्टो मान्यताले मष्टा भनेको निन्य, सर्वत्र र अजन्मा रहन्छन् भनेर मानेको देखिन्छ । अर्थात आफ्नो सृष्टिको पालन, पोषण र हितरक्षाका लागि सर्वत्र सदा उपलब्ध हुन्छन् । उनले अर्को जन्म लिइरहनु पनि पर्दैन, कसैलाई आफ्नो दूत बनाएर पाठाउनु पनि पर्दैन भनेर मानिएको देखिन्छ ।

मष्टालाई कसैले इन्द्रका छोरा जयन्त, कसैले मरुद्गण, कसैले शिवरुप भन्ने गरेको देखिन्छ । त्यो विलकुल अज्ञानता हो । खस संस्कृतिलाई हिन्दुकृत गर्ने आशयबाट कथिएको झूट हो । मष्टो मान्यता, शिव, इन्द्र वा विष्णुभन्दा उच्च अर्थात हिन्दु धर्मले मानेको सर्वोच्च परमेश्वर परमात्मा “परब्रह्म” भनेजस्तै हो । मष्टाले हिन्दू, मुस्लिम, कृश्चियन आदि धर्म र तिनका देवतासँग कुनै साइनो राख्दैन । बरु प्राचीन फारसी देवता “मज्दा” सँग ध्वन्यात्मक समानता राख्दछ ।

मष्टो संस्कृति खसहरुको मौलिक मान्यता हो । यतिखेर संवैधानिक प्रावधानका कारणले आफूलाई क्षत्री भन्ने खससमुदायलाई अत्तालिनुपर्नेगरी उकुसमुकुसको अवस्थामा पु¥याएको छ । खस–आर्य नामको वर्णशंकर जातिको रुपमा संविधानमा जड्नुको कारण खसको बुई चढेर सत्ताको भ¥याङ् चढ्ने  आर्य (वाहुन) हरुको षडयन्त्र रहेछ भन्ने कुरा बल्ल बुझ्न थालको छन् । हुन त त्यसरी संविधानमा खस शब्द पर्नु गौरवको विषय हो भन्ने मान्यता राख्ने खसहरु नभएका होइनन् तर अलिक बुझ्ने खसहरुले त्यो ब्राह्मणवादी साङ्लोबाट मुक्त हुनुपर्ने आवश्यकताबोध गर्न थालेका छन् । त्यसैले देश विदेशमा रहने खसहरुले अनेक कोणबाट आवाज उठाउन थालेका छन् ।

जाति नस्लका दृष्टिले वैदिक आर्य र खसहरु अलग हुन् । वैदिक आर्य समुदाय युरोपियन मूलका हुन् । खसहरु एशियायी मूलका हुन् । नेपालमा खसहरुको आगन उत्तर पश्चिमतिरबाट भएको हो । पश्चिमबाट प्रवेश गर्ने खसहरुका पुर्खाहरु कास्मीर, कुमाउ, गढवाल हुदै नेपाल प्रवेश गरेका हुन् । अर्थात ती सबै उत्तरबाट विभिन्न समयमा तल झरेका हुन् । आर्यहरुको नेपाल आमन दक्षिणबाट भएको हो । सबै खसहरुको मूल एउटै हो । खस र वैदिक आर्य अलग नस्ल र जातिका हुन् भन्ने कुरा भारतकै कैयौं प्रान्तमा खसहरुले आदिवासी जनजातिको मान्यता पाएबाट स्पष्ट हुन्छ । अर्थात यतिखेरको नेपाली ब्राह्मण ठकुरी समाजले “हामी ऋषिमुनिका सन्तान हौ, हाम्रो संस्कृति हिन्दू हो र भाषामूल संस्कृत हो” भनेर दम्भ गर्नु “मामाको घोडी, पमेरो हि हि” भनेजस्तो हो ।

एकथरी खसहरुले आर्य सभ्यताको नक्कली स्वामित्वमा हावामहल निर्माण गर्दैछन् । अर्कोथरी खसहरुले “मष्टो” परम्परालाई धर्मको रुपमा अङ्गिकार गर्नुपर्छ भनेर अभियान चलाउन थलेका छन् । अवश्य, मष्टो मान्यता हिन्दू, मुस्लिम, क्रिश्चियन वा बौद्ध धर्मजस्तै एउटा अलगै “धर्म” थियो होला भनेर अनुमान गर्न सकिन्छ । मष्टो सम्बन्धी मान्यताहरुले त्यही संकेत गर्छन् । तर कास्मीरबाट तल झर्ने खसहरुले कालक्रममा हिन्दु, बौद्ध वा अन्य धर्म ग्रहण गर्नाले मष्टो मान्यता हराउँदै गयो । त्यसले एउटा परिस्कृत धर्मको रुप गुमायो । धर्म होइन, खस संस्कृतिको रुपमा मात्रै अस्तित्व जोगायो । यतिखेरसम्म आइपुग्दा मष्टो संस्कृति हिन्दू धर्म मान्ने खसहरुको कविलाई संस्कृतिको अवशेषको रुपमा मात्रै जीवित छ ।

मष्टो संस्कृति खसहरुको नितान्त मौलिक परम्परा हो । त्यसलाई पुन धर्मको रुपमा पुनस्थापित गर्ने कोही चिन्तक गुरु निस्कन्छ भने त्यो स्वागतयोग्य कुरा मानिएला तर यतिखेरसम्म वैदिक आर्र्यबाट खस जातिलाई अलग कित्तामा देखाउन सहयोग पु¥याउन सक्ने एउटा सांस्कृतिक आधार मात्र रहेको छ । मष्टोलाई धर्मको रुपमा परिस्कृत गर्न सकिने सम्भावना छ । गर्नु पनि पर्ने होला । यो विषय देवता वा धर्म मान्ने् मात्रै होइन, खस जातिको अलग पहिचान स्थापित गर्ने कुरा पनि हो ।

त्यही कुरा हृदयङ्गम गरेर प्रस्तावित २०७८ को जनगणनामा धर्मको महलमा खसहरु सबैले “मष्टो” लेख्ने अभियान देश विदेशमा रहने जाकरुक खस अभियन्ताहरुलो चलाएन थालेका छन् । त्यो सकारात्मक र स्वागतयोग्य कुरा हो । त्यसलाई साथ र समर्थन गर्नु सबै खसहरको कर्तव्य हुन आउँछ । खसको भाषा मासिएको छ नस्ल पनि मासिने उपक्रममा छ त्यसैले जाति जोगाउने त्यो महान यज्ञमा पहिलो समिधा त्यही अभियानलाई बनाउनुपर्छ भन्ने चेतना सबै खस बन्धुहरुमा पलाउनु आवश्यक छ ।

यहीँनेर एउटा जटिलताको सामना भने गर्नुपर्ने हुन सक्छ । जाति अनेक हुन सक्छन् । धर्म पनि अनेकौं छन् । जात विशेष वा जातिविशेषको निश्चित धर्म हुदैन । हुनुपर्छ भन्न पनि मिल्दैन । सबभन्दा पुरानो मानिने धर्म जुडाइस त्यागेर अन्य धर्म अवलम्बन गर्ने यहुदीहरुको संख्या सयौंमा होला । धर्म परिवर्तनीय मानिन्छ । अर्थात कुनै पनि धर्म ग्रहण गर्न व्यक्ति स्वतन्त्र हुन्छ । धर्म बाध्यात्मक विषय होइन । एउटै जातिका मानिसले अनेककौं धर्म लिन पनि सक्छन् अनेक जातिका मानिसहरु एउै धर्ममा रहन पनि सक्छन् । त्यो कुरा खस जातिमा पनि लागु हुन्छ । यदि खसहरुले आफ्नो धर्म “मष्टो” मान्ने हो भने बाँकी अन्य धर्मसंिगको साइनो भने स्वतः टुट्न जान्छ ।

 कुनै हिन्दू धर्मावलम्बीले क्रिश्चियन धर्म अङ्गिकार ग¥यो भने उसको हिन्दू धर्मसँगको साइनो नातो टुट्छ । खसहरु अनेक धर्ममा संलग्न होलान् । मष्टो धर्ममा फर्कने हो भने अन्य धर्मसँगको नाता तोड्नुपर्ने हुन्छ । स्वभावतः तोडिन्छ । त्यसैले हिन्दू धर्मसँगको नाता पनि तोडिने नै भो । खस अभियन्ताहरुले “खस क्षत्री” भनाउने लोभ गर्न मिल्दैन । धर्मले त्यस्तो सुविधा दिदैन । किनकि चतुवण्र्य व्यवस्था हिन्दू धर्मको हो । हिन्दू धर्मसँगको नाताा तोडिएपछि हिन्दू रहिरहने कुरा हुदैन । हिन्दू नरहेपछि “क्षत्री, बाहुन वा शुद्र” भन्ने वर्ण पनि रहने कुरा हुदैन ।

हिन्दू धर्ममाबाहेक अन्य धर्ममा क्षत्री, बाहुन वा वैश्य शुद्र भनाउने छुट  वा सुविधा रहँदैन । स्वभावतः मष्टो धर्म मान्ने हो भने कसैले पनि आफूलाई क्षत्री वा बाहुन मान्न मिल्दैन । धर्म र राजनीतिमा दुईवटा डुङ्गामा खुट्टा राख्ने सुविधा हुदैन । कि काँग्रेस हुनुपर्छ, कि कम्युनिष्ट अथवा अर्को कुनै दलमा जान सकिन्छ । दलहरुमध्ये एउटा रोज्न पाइन्छ । एकबाट अर्कोमा फड्के हान्न पनि पाइन्छ तर दुई वा दुई भन्दा बढी दलको सदस्य एकैसाथ हुन पाइदैन । धर्म पनि त्यस्तै हो । खस क्षत्री बन्धुहरु ! क्षत्री भन्ने जात वर्णसँग त्यस्तो विछट्टै मोह छ भने खस अभियान आजैबाट परित्याग गर्नु होस् । होइन भने कि तपाईहरुलाई मष्टो धर्म मान्ने खस मात्र हुने सुविधा छ कि भने हिन्दू धर्म मान्ने क्षत्री हुने छुट छ । दुबै हातमा लड्डु राख्ने लोभ गर्नुको कुनै अर्थ छैन । परम्पराले त्यस्तो अनुमति दिदैन । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here