सांगठनिक एकता र कार्यविभाजनमा जुट्दै जसपा

14

काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको ६ महिनापछि बल्ल सांगठनिक एकता र कार्यविभाजन टुंग्याउने तयारी सुरु भएको छ। सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याएपछि आफ्नो पार्टीको सम्भावित विभाजन रोक्न गत वैशाख १० गते राति दुई पार्टीबीच हतारहतारमै एकता घोषणा भएको थियो।

एकताको ६ महिनापछि पार्टी कमिटी, जनवर्गीय संगठन र नेताहरुको कार्यविभाजन गर्नका लागि पार्टीले कात्तिक ३ र ४ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ। त्यही बैठकबाट जसपाको एकताले पूर्णताको बाटो समात्ने नेताहरुको भनाइ छ। एकता भएको दोस्रो दिन जसपाका नेताहरु दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए। त्यसको तीन महिनापछि मात्रै असार २५ गते जसपाले दल दर्ताको प्रमाणपत्र पाएको थियो। पार्टीभित्र नेतृत्वको व्यवस्थापन र वरियतालाई लिएर शीर्ष नेताबीच सहमति जुट्न नसक्दा दल दर्ता प्रक्रिया लम्बिएको थियो।

अब बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठकमा पार्टी कमिटी एकता, जनवर्गीय संगठन र नेताहरुको कार्यविभाजनका विषयमा छलफल हुने अध्यक्ष उपेन्द्र यादवले बताए। ‘पार्टी फुटाउन धेरै समय लाग्दैन। असहमति हुँनेबित्तिकै फुटाए भइहाल्यो’, यादवले नेपाल लाइभसँग भने, ‘एकता भइसकेपछि सबै पार्टी कमिटीलाई मिलाउन गाह्रो हुँदोरहेछ। सबैलाई चित्त बुझाएर लग्न छलफल गर्दै सहमत गराउनुपर्ने भएकाले समय लाग्यो। अब एकतालाई पूर्णता दिन्छौं।’

जसपामा अहिलेसम्म अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र बाबुराम भट्टराईलाई वरिष्ठ नेतामा राखिएको छ। केन्द्रीय कार्यकारिणी समिति ५३ जनाको हुने मात्रै टुंगो लागेको छ। त्यसबाहेकका पार्टी एकतासम्बन्धी अरु काम बाँकी रहेको नेता नवराज सुवेदीले बताए। पार्टीको विधान र नियमावली तथा आचारसंहितालाई पनि एकतापछि भएको कामकै रुपमा लिनुपर्ने उनले बताए।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले एक हजार एक सय संघीय परिषद् र ७ सय केन्द्रीय कमिटी बनाउने  भएको छ। जसपाको विधान बमोजिम ७ सय १ जना केन्द्रीय सदस्य बनाउन सकिने छ। तर यसअघि राजपाले ७ सय ९३ जना र समाजवादी पार्टीले ४ सय ३१ जना सदस्य रहेको केन्द्रीय कमिटी बनाएका थिए। तर अब ७ सय १ जनाको केन्द्रीय कमिटी बनाउने सहमति भएको छ। केन्द्रीय कमिटीमा बस्ने सदस्यको टुंगो लगाउन तत्कालीन राजपालाई सकस परेको छ। यसअघि राजपाले केन्द्रीय कमिटी ठूलो बनाएका कारण छरितो टिम बनाउन सकस हुने देखिन्छ।

संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराईलाई जिम्मेवारी दिएर वरियतामा पहिलो नम्बरमा उकाल्ने विषयमा छलफल हुने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कार्यविभाजन र केन्द्रीय सदस्यको समेत कार्यविभाजनका विषयमा बैठकमा छलफल हुने नेता सुवेदीले बताए।

पाँच केन्द्रीय निकायसमेत गठन गरिने भएको छ। जसमा केन्द्रीय सल्लाहकार परिषद, विज्ञ परिषद, अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षक आयोग गठन गरिने नेता गंगानारायण श्रेष्ठले भने । यस्तै, सात प्रदेश र गैरभौगोलिक प्रदेश, प्रवास, जिल्ला र पालिकास्तरका पार्टी एकता गर्न कार्यदल बनाइने नेता श्रेष्ठले बताए। कार्यदल बनाएपछि त्यहीँबाट ९ प्रदेश, ७७ जिल्ला र पालिकाको एकता टुंगो लगाइने उनले बताए।

अहिलेसम्म स्वतःस्फूर्त रुपमा २० जिल्लामा पार्टी कमिटीको एकता भइसकेको छ। अझै ५७ जिल्ला कमिटीको एकता हुन बाँकी नै छ। कतिपय पालिका र वडा स्तरमा समेत स्वतःस्फूर्त एकता भएको भए पनि अझै पूर्ण एकता हुन बाँकी नै छ।तत्कालीन समाजवादीको २१ जनवर्गीय संगठन र राजपाका २० जनर्गीय संगठनको एकताको सुरु नै नभएको नेता केशव झाले बताए। ती सबै जनवर्गीय संगठनको एकता टुंगो लगाएर नेतृत्वको भागबण्डा मिलाउन बाँकी नै रहेको झाले बताए।

कुनकुन जनवर्गीय संगठन बनाउने र ती जनवर्गीय संगठनको नाम के राख्ने भन्ने विषयमा लामै रस्साकस्सी हुने देखिएको छ। जनवर्गीय संगठनको संख्या र नाम टुंगो लागेपछि नेतृत्वको भागबण्डा मिलाउन पनि समय लाग्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here