दशैं पर्व अहिंसात्मक बनोस् भनेर कामना गर्नुको के अर्थ छ र ?

69

-चन्द्रप्रकाश बानियाँ

मेरा बाजे बराजुहरूले देखेभोगेको संसारभन्दा मैले सुमर्न थालेको संसार फरक छ । यो परिस्थिति आफै परिवर्तित भएको होइन । यसलाई फेर्ने मान्छे नै हो । मान्छेले समाजविकासको क्रममा धेरै कुराहरू फेरिसक्यो । रीतिरिवाज फे¥यो, खानपीन, बसउठ, आहार व्यवहार, चालचलन फे¥यो, के के फे¥यो फे¥या्े । तै पनि केही यस्ता कुराहरू पनि छन् जसले चलनचल्तीबाट हट्ने नामै लिदैनन् । मानवसमाजको ध्यान त्यतातर्फ गएकै छैन । सबै कुरा फेर्ने खुबी भएको मानवसमाजले पुराना भएर थोत्रिएका मक्किएका तिथिबार गणनाको जीर्ण परम्परालाई किन फेर्दैन कुन्नी ?

मेरो यो गुनासोको गुढ अर्थ छ । व्यवहारिक मर्म छ । पुराना रीति परम्परामा सुधार, परिमार्जन वा परिवर्तन भैदिने हो कमसेकम यो ज्यानमारा दशै सालैपिच्छे आउन पाउने थिएन । कमसेकम एउटा दशैंको आर्थिक मामलो नसल्टदै अर्को दशैंको कहालिलाग्दो ‘लाखे अनुहार’ देख्नुपर्ने विवशताबाट मुक्त होइन्थ्यो । जेहोस् धैर्यपूर्वक गौंडो कुर्दा हात्तीलाई धापमार्न पाइन्छ भन्छन् । यो संसार परिवर्तशील नभए पनि विनासशील छ । यो कुरा विज्ञानले मात्रै होइन, हाम्रा धर्मशास्त्रहरूले पनि मानेका छन् । मेरा हर्जुबाहरूले पनि प्रलयको कुरा गर्थे । विज्ञानले ठोकुवा गरेजस्तो वा धर्मशास्त्रले अनुमान गरेजस्तो विनाशकारी प्रलय नभए पनि सांस्कृतिक प्रलय त अवश्य आउँछ, आउँछ र मैले नभए पनि मेरा नाति पनाति वा खनातिका पालोसम्ममा यो दशैं रूपी राक्षसको क्रुर पञ्जाबाट मान्छेहरूले अवश्य मुक्ति पाउलान कि भन्ने आशा भने टुटेको छैन ।

दशैंको दशा नभोगेकाहरूलाई दशैंप्रतिको यो वितृष्णा अनौठो लाग्न सक्छ । भुक्तभोगीहरूका लागि यो जीन्दगी भरिको महाकाल बनेको हुन्छ । गीताले ज्ञानभन्दा भक्तिलाई असल र सजिलो धर्माचरण मानेको छ । भक्तिको यथार्थ परिभाषा अन्धानुशरण हो । त्यसैले भक्तिमा असिम आनन्द हुन्छ र त्यो स्वस्थ चेतनाविहीन मान्छेका लागि गाँजाको स्वादजस्तो हुन्छ । त्यसको विपरित शिक्षा, अनुभव र साधनाबाट ज्ञान प्राप्त हुन्छ र त्यो तीतो हुन्छ । बाल्यकालमा मेरो दशैं पनि रमाइलो रहन्थ्यो । राम्रो नाना र मीठो खाना भन्दा अरु कुनै कुरासँग मेरो साइनो सरोकार रहँदैनथ्यो । किशोरावस्थासम्म आइपुग्दा समेत त्यस्तो विधि बिग्रिहालेको केही थिएन । रहर र आकांक्षाहरू अलिकता बढेका मात्र थिए । ‘बाबुको कमाइ मेरो रजाई’को स्थिति कायमै थियो । अलिकता घुर्कीफुर्की लगायो भने खल्ती भरिन्थ्यो । कमसेकम फुपुको श्राद्धका निमित्त पर्याप्त मामाको धन हातलागि भैहाल्थ्यो ।

अब भने स्थिति पुरै फेरिएको छ । कसैको छोरा नाति होइन अब त म पनि कसैको बाबु र हजुर्बा समेत भैसकेको छु । यो उर्लदो महङ्गीको जमानामा नुनतेल, दालचामल, खसीबोका, नानाचाचा, दानदक्षिणा आदि इत्यादिको आर्थिक दायित्व यही तिलचामले टाउकोमा थोपरिएको छ । उता त्यो अविवेकी र असत्ती दशैं भने दिनबार तिथिमिति रिट्ठो नबिराई हरेक वर्ष आइहाल्छ । यो वर्ष पनि संघारबाट घरभित्र खुट्टो छिराई सकेको छ । न रामले रावणलाई मारिदिएकोमा मलाई कुनै हर्ष छ, न देवी दुर्गाले चण्डमुण्ड, महिषासुर वा रक्तबीजहरूको बध गरेकोमा अब पनि खुसी मनाउनुको कुनै औचित्य देख्छु म तर पनि संस्कार, संस्कृति र परम्पराको जब्बर दाम्लोले बाँधिएको मैले सालभरको नुनतेल चल्ने रकम खर्चेर यो वर्षको दशैं पनि नमनाई सुखै पाउँदिन । मन अमिलो बनाएरै भएपनि टीका थाप्न आउनेहरूलाई आशिष दिईटोपल्नु पर्छ । आशिष मात्रै दिएर पुग्ने भए त हुन्थ्यो मुख मिठो पनि गराउनु प¥यो, गच्छेले भ्याए पनि नभ्याए पनि दानदक्षिणा टक्रयाउनै प¥यो । अनि अनुहारमा रुञ्चे हाँसो देखाए पनि, मन त अमिलिने नै भो । ठूलाबडा वा देउ पितृहरूको आशिर्वादले कुनै लछार्पाटो लगाउने होइन । आफ्नो उन्नति अवन्नति वा उत्कर्ष अपकर्ष आपनै परिश्रममा भरपर्छ । यो वास्तविकतासँग पुरै परिचित भएर पनि मान्यजनहरूको आशिर्वाद र टीका थाप्नै पर्छ । अर्थात धार्मिक दृष्टिले श्राद्धमा बिरालो बाँध्ने परम्परा राम्ररी निभाउनु पर्छ । दिनदिनै उर्लदै गएको महंगीको थामीनसक्नु बोझले कुप्रदै गएको आर्थिक मेरुदण्डलाई अझ कुप्रो बनाउनु पर्छ । दशै रहर होइन, कहर बन्छ । तैपनि देखावटी उत्साह र नक्कली उमङ्गकासाथ दशै मनाउने बाध्यात्मक विवशताको शिकार बन्नै पर्छ । कहिले कोजाग्रत पूर्णिमाको अवसान होला र यो वर्षको आपत टर्ला भनेर दिनगन्ती सुरु गर्नुपर्ने हुन्छ ।

कुरो २०६३ सालको दशैको पूर्वसन्धयाको हो । कान्तिपुर टेलिभिजनसंगको वार्तालापमा नेपालका एकजना ख्यातानामा र स्थापित मानवाधिकारवादी अगुवा कृष्ण पहाडीले ‘अहिंसात्मक दशैं’को कामना गरेका थिए । त्यतिबेलाको उनको ईशारा र आशय माओवादी आन्दोलनतिर थियो । तत्कालीन समयमा माओवादी आन्दोलन उत्कर्षमा थियो । उनीहरूले चाहे वा आँटे भने मुलुक तत्काल शान्तिभूमिमा रूपान्तरित हुन सक्दथ्थ्यो । हुन पनि उनले कामना गरेजस्तै प्रचण्डको एकै आदेशले माओवादीले जम्मा गरेका सम्पूर्ण विष्फोटक र मारक खजानाहरू कन्टेनरमा थन्किए । माओवादी जनसेनाहरू क्यान्टोन्मेन्टमा थन्किएथे ।

यहीँनेर हेक्का राख्नुपर्ने कुरा के रहन्छ भने हिंसाले हतियारमा होइन मान्छेको भावनामा बास गरेको हुन्छ । हतियार त मान्छेको हिंसात्मक चिन्तनलाई व्यवहारमा उतार्ने साधन मात्रै हो । मान्छेले फेरि पनि समाजमा अन्याय, अत्याचार, शोषण र विभेदको अनुभूति गरिरह्यो भने, ठूला र सानाबीचको भेदभाव महसुस गरिरहने वातावतरण बनिरह्यो भने सधै चुप लागेर बस्दैन । उसमा हिंसात्मक भावना जागृत हुन्छ । अनि मान्छेले पुन: हतियार उठाउँछ । चन्द नेतृत्वको नेकपा त्यही प्रयत्नमा लागेको हो । मान्छे स्वभावैले विद्रोही प्रकृतिको हुन्छ । अलिकति समय लाग्न सक्छ । एकै रातमा त्यो पुरा हुन सक्दैन । समय त लाग्ला तर समाजमा देखिएको आगोको फिलिगोले दावानलको रूप लिदैन भन्न सकिन्न ।

मुलुकले शान्तिको बाटो समाते पनि दशैंपर्व अहिंसात्मक हुन सक्तैन । दशै हिंसाको जगमा स्थपित र विकसित भएको पर्व हो । शुम्भ, निशुम्भ र महिषासुरहरूको रगतमा होली खेलिएको सम्झनाको पर्व हो–दशैं । लंकाको सिंगो राक्षसकुल विनाशको हिंस्रक कथाको स्मरण र साक्षी हो –दशैं । रामकथालाई सत्य होला भनेर मान्ने हो भने मानव विनाश मात्रै होइन, बाँदरसेनाको प्रयोग गरेर रामले गराएको लंकाको समृद्धिको विनाशसंग पनि दशैंको नाता गाँसिएको छ । आजसम्म पनि रामलिलाको नौटंकीको आयोजनामा रावण कुम्भकर्णहरूका भीमकाय पुतलाहरूमा आगो लगाएर राक्षसी हिंसा प्रदर्शन गरिने परम्परा रहँदै आएको छ । भगवतीको नाममा वर्षेनी लाखौं हजारौं निरीह पशुपंक्षीहरूको हिंसा गरिँदैछ । खसी, बोका, राँगा, पाठा मात्रै होइन, शन्तिका प्रतीक मानिएका परेवाहरूको समेत बलि चढाउन छाडिएको छैन । त्यो हिंसाको उत्प्रेरक परम्परा तोड्नुपर्छ भनेर आवाज उठाउन सायद मानवाधिकारवादी अगुवाहरूलाई उनीहरूको हिन्दुवादी सांस्कृतिक चेतले रोक्छ होला ।

परम्परा अन्धो हुन्छ । अनि हिंसामा आधारित पर्व दशैंले कसरी हिंसामुक्तिको सन्देश दिन सक्छ र ? अहिंसात्मक दशैंको कल्पना केवल कोरा कल्पना मात्रै हो । साँच्चै हिंसामुक्त दशैंको कामना गर्ने हो भने दशैं मनाउनै छोडिदिनु पर्छ । न रहे बाँस, न बजे बाँसुरी ! भेटघाट र पारीवारिक पुनर्मिलनका लागि दशैं नै चाहिन्छ भन्ने के छ र ? नयाँ संस्कार, नयाँ परम्परा र नयाँ पर्वमेलाहरू स्थापित गर्न सकिन्छ । पुरानो रुढीको पुच्छर समातिरहनुपर्छ भन्ने के छ र ? नयाँ पर्वको नयाँ तिथिमिति निश्चित गरौं । हिंसाको स्मरण गराउने, हिंसातर्फ उत्प्रेरित गर्ने, मानिसको अन्तर्मनमा रहेको हिंसाको भावनालाई जगाउने दशैंपर्वको विपक्षमा सबै मानवाधिकारवादीहरू मिलेर आन्दोलन नै चलाउँदा पो के फरक पथ्र्यों र ? नत्र परम्परागत दर्शैं पर्वलाई हिंसामुक्त बनाउने कल्पना पनि रावणको स्वर्गजाने सिंढी बनाउने कल्पना जस्तै वाहियात, बकम्फुसे र गँजडी गफ नठहर्ला भन्न सकिन्न !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here