कैलालीका गौरीगङ्गा नपा–३ का कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

134

कैलाली- कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना अस्पतालमा उपचाररत ७३ वर्षीय शाहको आज बिहान मृत्यु भएको नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले जानकारी दिइन्।

बिरामी भएपछि कात्तिक १७ गते नमुना जाँच गराउँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

यसैबीच कोरोना सङ्क्रमण भई धनगढीमा उपचाररत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उनका स्वकीय सचिव जङ्गबहादुर विकले बताएका छन्।

“मन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहे पनि सुधार आउन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ”, विकले भने, “धनगढीमा होम आइसोलेसनमा बसिरहनुभएका मन्त्री शाहलाई नाकबाट रगत बगेपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार व्यवस्थापन गरिएको थियो।”

 मन्त्री शाहसहित उनकी पत्नी र गाडी चालकमा यही कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा गुणराज अवस्थीले चिसो मौसममा कोरोना सङ्क्रमण दर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताए। – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here