काठमाडौं-नेपाली कांग्रेसका संस्थान र असन्तुष्ट पक्षबीच देखिएको विवाद समझदारी नजिक पुगेको छ। पछिल्लो एक सातादेखि पदाधिकारी, पूर्वपदाधिकारीसतिहका नेताहरूको निरन्तरको छलफलबाट असन्तुष्ट पक्षले उठाएको क्रियाशील सदस्यता वितरणसहितका विषय सम्बोधन गरेर अघि बढ्ने समझदारी बनेको हो।
कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरूले उठाएका अधिकांश माग सम्बोधन गर्ने समझदारी बनेको दाबी गरे। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुका साथै समयबद्ध काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै पौडेलले भने, ‘पार्टीको क्रियाशील सदस्यता वडाले नै के–कति चाहिन्छ, उसैले वितरण गर्ने समझदारी बनेको छ।’
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने पार्टीभित्र उत्पन्न समस्यालाई सहमतिबाट समाधान गरेर अघि बढ्ने सोच नेताहरूमा उत्पन्न भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको दाबी गरेको आजको नागरिक दैनिकमा खवर छ ।

















