–राज्यलक्ष्मी शाक्य
कोरोनाको उपचार सामग्री र औषधी आयातमा पनि सरकारले सम्बन्धका आधारमा ठेक्का दिने काम गर्दा राज्यकोषमा ब्रह्मलूट नै भएको थियो । बिमा गराएका ब्यक्तिहरुले संक्रमित भएको मौखिक जानकारी बिमा कम्पनीलाई गराए पनि दाबी भुक्तानीका लागि आवश्यक कागजात समयमै नबुझाएको भन्दै बिमितहरुलाई दुख दिने काम भैरहेको पाईएको छ । यसैबाट स्पष्ट हुन्छ कि कोरोना बिमाको नाममा पनि धाँधली सुरु भएको छ ।
बिमा कम्पनीहरूले तयार गरेको विवरणअनुसार अहिलेसम्म ३२ हजार ७८४ जना बिमितले आफू कोरोना संक्रमित भएको जानकारी बिमा कम्पनीलाई गराएका छन् । तर तीमध्ये १२ हजार १ सय १८ जनाले मात्रै कागजात पूरारूपमा बुझाएका छन् भनिएको छ । बिमा गराई सकेपछि बिमित संक्रमित भएको प्रमाण बाहेक अरु केही कागज प्रमाणको आवश्यकता नपर्नु पर्ने हो । तर बिभिन्न बखेडा सृजना गरेर बिमितहरुलाई ठग्ने काम भैरहेको पाईएको छ । २० हजार ६ सय ६६ जनाले पूरै कागजात नबुझाएको भन्दै बिमा रकम पाउनबाट संक्रमित बिमितहरु ठगिएका छन् ।
प्राप्त जानकारी अनुसार हालसम्म ४ हजार ९ सय २९ जनाले बिमा दावी भुक्तानी पाएका छन्। उनीहरूले बिमा कम्पनीबाट ४७ करोड ७७ लाख रूपैयाँ दावी भुक्तानी पाएका छन्। कूल ३ अर्ब १८ करोड रूपैयाँ भुक्तानीका लागि बिमा कम्पनीहरूले भुक्तानी गर्नु पर्ने देखिन्छ । बिमितहरु संक्रमित भएको सूचना पाएर पनि सम्बन्धित निकायबाट भुक्तानी पाउनबाट बंचित गराईएको छ । २ अर्ब ७० करोड रूपैयाँ भुक्तानी दिन बाँकी रकममा क–कस्ले भागबण्डा गर्ने हुन् रु क्रमशः खुलस्त हुँदै जाला नै।
प्राप्त विवरणअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ३ हजार ४७ दाबी पठाइएकोमा ११ सय ७२ जनाको दाबीको अन्तिम स्वीकृति प्राप्त भएको छ भने १८ सय ७५ जना स्वीकृतिको चरणमा रहेको जनाईएको छ।
कोरोना बिमाअन्तर्गत हाल सम्म १ लाख ५७ हजार ३ सय ९५ पोलिसी बिक्री भएको थाहा भएको छ । यी पोलिसीअन्तर्गत १७ लाख १० हजार बिमित छन् । बिमा कम्पनीहरूले यसबाट ९८ करोड ६९ लाख ९७ हजार रूपैयाँ प्रिमियम संकलन गरेको जनाईएको छ । कोरोना बिमामा पनि लूट मच्चाउने छूट लुटेराहरुले पाउने देखिन्छ । समयमै सबै क्षेत्रबाट खबरदारी जरुरी छ ।–जनधारणा साप्ताहिकबाट


















