डबल नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

62

काठमाडौं । डबल नेकपाको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्ने जनाईएको छ ।

बैठकमा सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७’ का बारेमा छलफल गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको तयारी छ।

मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकले बुधबारका लागि बैठक तय गरेको थियो। पार्टी विवादकै बीच नयाँ अध्यादेश ल्याइएपछि नेकपा विवाद थप उत्कर्षमा पुगेको छ।

कार्यकारी अध्यक्ष दाहालसँग परामर्श नै नगरी प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीले अध्यादेशका लागि सिफारिस गरेको भन्दै बहुमत सचिवालय सदस्यहरू हिजो मंगलबार खुमलटारमा भेला भई छलफल गरेका थिए।

प्रचण्डले मंसिर ३ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता गरी गत भदौ २६ गते निर्णय वरिपरिबाट सहमति खोज्नुपर्ने प्रधानमन्त्री ओलीको अडान छ। तर, प्रचण्डले दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा छलफल गरी निर्णयमा पुग्नुपर्ने जनाएएका छन्।

मंसिर २१ गतेको बैठकमा ओली सहभागी नभई पत्रमार्फत् सम्बोधन गरेका थिए। त्यस बैठकमा प्रचण्डले मात्रै सम्बोधन गरी दुई अध्यक्षको प्रतिवेदन सबै नेताहरुलाई वितरण गरिएको थियो।

गत २८ मंसिरमा बसेको स्थायी कमिटी बैठक बोलाएपनि पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here