पुस १७ गते राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राप्रपा प्रदर्शन गर्ने

364

काठमाडौं-हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा प्रदर्शन गरिसकेको भन्दै उनले पुस १७ गते काठमाडौं उपत्यकामा पनि प्रदर्शन गर्न लागेको बताए ।  सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएकाले पनि राप्रपा सडकमा उत्रनुपरेको अध्यक्ष राणाले बताए ।  अर्का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए ।  राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहनेमा बहस सुरु हुनु सुखद रहेको भन्दै उनले देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्तालाई आग्रह गरे ।  कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताले चाहेको परिवर्तनलाई संस्थागत गर्न पनि आन्दोलन आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here