जसपाले संसद विघटनको विरोधमा मसाल जुलुस

431

काठमाडाैं –  प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संसद विघटनपछि  विभिन्न दल र समूहहरुबाट यसको विरोध  गरेकाे छ ।  साेही क्रममा उपत्यका लगायत देशका  विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत  भएकाे छ ।

जनता समाजवादी पार्टीको भातृ संगठन नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिले संसद विघटन गर्ने सरकारको कदमको विरोधमा मशाल जुलुस निकालेको छ ।

काठमाडौंको बाङ्खेमुढा चोकबाट निकालिएको जुलुस थँहितिबाट त्यौड हुँदै असन पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै जनसरोकार समन्वय समितिका संयोजक श्यामकृष्ण प्रजापतिले सरकारको असंवैधानिक कदम फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने बताए ।

‘संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको यो निर्णय स्वेच्छाचारी र असंवैधानिक छ,’ जसपा काठमाडौं जिल्लाका अध्यक्ष समेत रहेका प्रजापतिले भने । ‘यो कदम सरकारले फिर्ता लिनैपर्छ, नभए यसको नतिजा भोग्न तयार होउन् ।’

पुष ५ गते विहान बसेको मन्त्रीपरिषद्को वैठकको सिफारीसलाई अनुमोदन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेका छन् भने प्रधानमन्त्री ओलीले आगामी वैसाख २३ गते मध्यावधि निर्वाचन  गर्न प्रस्ताव गरेका छन् ।

सरकारको यो कदमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, प्रतिपक्ष जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी लगायतले विरोध जनाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here