काठमाडौं – ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आइएको छ ।
आज कांग्रेसले यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक कदमको विरोधका रुपमा पनि मनाउने भएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताएका हुन् । आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको जानकारी दिए ।
आज कांग्रेस सभापति शेरबहादुर देउवा सम्मिलित छहारी संवाद चलाउँदै छ । उक्त कार्यक्रम ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयमा केन्द्रीत हुनेछ । एकता दिवस, मेलमिलाप दिवस र वीपी स्वदेश फर्किएको दिन मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
स्वदेश फर्केका वीपी, गणेशमान लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो । त्यतिबेला त्रिभुवन विमानस्थलमा विमान अवतरण गरेपछि कमल थापाको नेतृत्वमा गएको टोलीले बिपीको स्वागत गर्न पुगेकाहरुलाई ढुङ्गामुढा लाठी प्रहार गर्ने खुँडा तरवार प्रहार गरेर घाइते समेत बनाएका थिए । स्वागत गर्न जानेलार्इ बिपी कोइरालालाई राखेको जीपमा पनि कमल थापाहरुले आगजनी गर्न लागेका थिए । सुन्दर जलमा गुण्डाहरु बिपी कोइरालालाई मार्न समेत योजना बनाएका थिए ।


















