एकदिन ऋषि पुलस्त्य हिमालय यात्रामा निस्केछन् । प्रकृतिको मनोरम दृश्यावलोकनको रसपान गर्ने सिलसिलामा गोबर्धन पर्वत देख्दा उनी असाध्य लोभिएछन् । यस्तो सुन्दर पर्वत आफ्नो आश्रमस्थलमा भैदिए कति राम्रो हुँदो हो जस्तो लागेछ । उनी पर्वतराज (पार्वतीका पिता)को दरबारमा उपस्थित भएछन् । ऋषिको स्वागत अभिवादनपछि राजाले ऋषिआगमनको उद्देश्य सोधेछन् । पुलस्त्यले आफ्नो आगमनको कारण वास्तवमा त्यस्तो विशेष केही नभएको, घुमफिर गर्ने सिलसिलामै हिमालयमा आइपुगेको र गोबर्धन पर्वतको सुन्दरताले आफू मोहित भएको कुरा सुनाएछन् । त्यो मनमोहक पर्वत आफ्नो वासस्थानमा लैजाने इच्छा समेत जाहेर गरेछन् । पर्वतराजले पनि सहर्ष अनुमति दिएछन् । इच्छाएको बस्तु पाएका पुलस्त्यले गोबर्धन पर्वत उठाएर हिड्नै थाल्दा ‘निर्दिष्ट गन्तव्यमा बाहेक अन्यत्र पर्वत बिसाउन नहुने, एकपटक धर्तीमा बिसाएपछि पर्वतलाई फेरि चलाउन सकिने छैन’ भन्ने जानकारी पनि पर्वतराजले दिएछन् ।
गोबर्धन पर्वत उठाएर घरतिर लागेका पुलस्त्यलाई घुम्दैफिर्दै मथुरापुरीको बज्र भन्ने ठाउँमा पुग्दा लघुशंकाले च्यापेछ । सहनै नसकिने भएपछि गोबर्धन पर्वत भुईमा बिसाएछन् । काम सकेर फेरि पर्वत उचाल्न खोज्दा उनको केही नलागेपछि पर्वतराजको भनाई सम्झेछन् र पर्वत त्यही छोडेर आफ्नो आश्रमतिर लागेछन् । यसरी गोबर्धन पर्वत हिमालयबाट बज्रमा स्थायीरुपमा स्थानान्तरण भएछ । पछि बज्रबासीसँग रिसाएका इन्द्रको कोपभाजन बन्नबाट गोपालहरुलाई जोगाउने सिलसिलामा श्रीकृष्णले त्यही पर्वत उठाएका रहेछन् ।
यो कथा भृगुसंहिताको हो । त्यस ग्रन्थमा उल्लेख भए अनुसार त्यतिबेला पुलस्त्य ऋषिको आश्रम काशीतिर रहेको देखिन्छ । होला कुनै कालखण्डमा पुलस्त्य ऋषिको आश्रम काशीतिर रहेको हुनसक्छ । तर ऋषिमुनिहरु अपेक्षाकृत एकान्त निर्जन स्थानमा रहेर तपस्या र साधना गर्ने गर्थें भन्ने लोकमान्यता रहेको छ । त्यसैलै भुगुसंहितामा भनिएजस्तो काशीमा पुलस्त्य ऋषिको कुटी थियो भने पनि त्यो स्थायी वासस्थान थियो होला भनेर पत्याउन सकिदैन । यहीनेर विचारणीय कुरा के पनि देखिन आउँछ भने काशी अर्थात वनारस महाभारतयुगसम्म अर्थात (पौराणिककालमा) पवित्र तीर्थ मानिएको उदाहरण फेला पर्दैन । काशी निकै पछि मात्र धार्मिकस्थलको रुपमा विकसित भएको हो । काशीलाई पवित्र तीर्थस्थल हो भनेर प्रमाणित गर्ने सन्दर्भमा प्रसिद्ध ऋषि पुलस्त्यको आश्रम पनि त्यहीँ थियो भनेर उल्लेख गरिएको हुनसक्दैन भन्न मिल्दैन । पर्यटन विकासकै सन्दर्भमा धार्मिकस्थलहरुको विकास गरिएको हो भन्ने कुरा अकाट्य तथ्य हो । बरु म्याग्दीको नवगठित “वेनी नगरपालिका” अन्तर्गत वडा नं. ११ पुलामा अवस्थित “पक्षै” भनेर चिनिने मनोरम डाँडोमा पुलस्त्य ऋषिको आश्रम थियो भन्ने स्थानीय जनश्रुति रहेको छ । र केही तथ्यहरुले त्यो भनाईमा सत्यता छ भनेर प्रमाणित गरिदिन्छन् ।
पवित्र काली गण्डकीको किनारमा अवस्थित प्राकृतिक दृश्यवालोकनका दृष्टिले उत्तम भन्न मिल्ने पक्षैमा प्राचीन ऋषि पुलस्त्य पुलहको आश्रम थियो होला भनेर पत्याउन सकिने आधारहरु रहेका छन् । अर्थुङ्गे, पुला, घतान, सिंगा र पातलेखेत समेतको इलाकालाई पहिले संयुक्तरुपमा “पुला” भनेर पुकारिन्थ्यो । यस क्षेत्रमा पुलस्त्यादि ऋषिहरुको आश्रम रहेको हुनाले यस ठाउँको नाम “पुला” रहन गएको हो भन्ने लोककथन रहेको छ र त्यस भनाईमा अविश्वास गर्ने ठाउँ छ जस्तो लाग्दैन ।
महाभारतको वनपर्वमा महाभारतयुद्ध सुरु हुनुपूर्व बलरामजी तीर्थयात्रामा निस्केको र तीर्थाटनकै सन्दर्भमा ‘कृष्णा गण्डकीको किनारमा रहेको पुलस्त्य आश्रम’मा पनि पुगेको वर्णन परेको छ । श्रीमदभागवतको आठौं स्कन्दमा पनि यो कुरा उल्लेख छ ।
काली गण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको खण्डलाई “कृष्णा गण्डकी” भनिन्छ । त्यसभन्दा तल यो नारायणीको नामले लोकपरिचित छ । त्यसबाट पनि पुलस्त्य ऋषिको आश्रम देवघाटभन्दा माथि र मुक्तिनाथभन्दा तल कतैतिर रहेको कुरा पुष्टि हुन्छ । यस क्षेत्रमा पुलाबाहेक अन्य कुनै ठाउँमा पुलस्त्य ऋषिको आश्रम रहेको कुरा किम्वदन्तिमा समेत पाइदैन ।
भारतवर्षमा विकसित आध्यात्मिक हिन्दू दर्शनले ब्रह्माजीलाई मूलपुरुष मानेर मानव उत्पत्ति र विकासको कल्पना गरेको छ । उनै ब्रह्माजीका अनेकौं मानसपुत्र मध्येका एकजना पुलस्त्य ऋषिलाई पनि मानिन्छ । उनै पुलस्त्यका नाति रावण त्रेतायुगका एकजना प्रख्यात राजा भएको कथा अनेकौं धर्मग्रन्थहरुमा उल्लेख भएको छ । उनको राज्य लंका (हालको श्रीलंका) थियो भनेर मानिन्छ । रावण उत्पत्तिको कथासार यस्तो छ ः
ब्रह्मापुत्र पुलस्त्यको जेठा छोरा वैश्रवण (धनका राजा कुबेर) आफ्ना बाजे ब्रह्माजीको सेवाश्रुषामै निमग्न हुन थालेपछि पुलस्त्यले आफू उपेक्षित भएको अनुभूति गरेछन् र योगसाधनाद्वारा “विश्रवा” नामको अर्को रुप धारण गरेछन् । आफूसँग कुपित भएको बाबुबाट कुनै अनिष्ट हुने हो कि भन्ने त्रासले बाबुलाई रिझाउनका लागि कुबेरले तीनवटी यक्षकन्याहरु उनको सेवामा खटाएछन् । तिनै यक्षकन्याहरुबाट विश्रवाका रावण, कुम्भकर्ण, विभिषण र खर नामका चार छोरा र सुपर्णाखा नामकी एउटी छोरी जन्मेछन् । छोराछोरी जन्मेपछि विश्रवा पनि तपस्याको लागि हिमालयतिर लागेछन् । यसरी कुवेरको उपेक्षाबाट कुपित भएर जन्माइएका रावणलगायतका लालाबालाको स्याहारसम्भार, पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी पुलस्त्य ऋषिको काँधमा थपिएछ ।
रामायणमा भने विश्रवालाई पुलस्त्य ऋषिका छोरा भनिएको छ र आफ्ना साना छोराछोरीहरु पुलस्त्य (बाजे)को आश्रममा छोडेर तपस्याका निमित्त हिँडेको कथा लेखिएको छ ।
ती दुबैखाले प्रसंगहरुले पुलस्त्य ऋषिका सन्तान रावण, कुम्भकर्ण, विभिषण, खर र सुपर्णखा लगायतको जन्म तथा पालनपोषण पुलस्त्य ऋषिको आश्रम वरपर नै भएको हुनुपर्छ भन्ने प्रमाण लाग्दछ र पुलस्त्य आश्रम पक्षैमा रहेको कुरा श्रुतितथ्यहरुले प्रमाणित गर्दछन् । त्यसैले रावणादि विश्रवापुत्रहरुको जन्मस्थान पुला हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ ।
आफ्ना नाति वैश्रवणको भक्तिभाव र सेवाश्रुषाबाट खुसी भएका ब्रह्माजीले उनलाई लंकाको राजपाठ दिएको कुरा महाभारतमा उल्लेख छ । पछि त्यही राज्य रावणले हस्तगत गरेका छन् । अंशबण्डामै त्यो राज्य उनलाई मिलेको पनि हुनसक्छ । लंकाको राज्य रावणलाई सुम्पेर कुवेरले सुवर्णगिरिमा नयाँ राज्य स्थापना गरेका थिए । सुवर्णगिरि नामको उक्त ठाउँ यतिबेलाको गुङ्गेपुराङ् भनिने पश्चिम तिब्बततिरको यताउता कतै रहेको अनुमान गरिन्छ । यसरी मानसरोवरदेखि श्रीलंकासम्म कुनै जमानामा ऋषि पुलस्त्य ऋषिका सन्तान सन्ततिहरुको राज्यशासन रहेको प्रमाणित हुन आउँछ ।
रावणको राज्य लंकामा थियो । श्रीलंकालगायत दक्षिण भारतका केही आदिवासी इलाकाहरुमा रावणलाई देवता मानेर पूजागर्ने समुदायको अस्तित्व विद्यमान रहेको छ भनिन्छ । रावणलाई नपुजे पनि पुलस्त्य ऋषिको प्राचीन पाषण मूर्ति श्रींलंकाको समुद्रीतटको चट्टानमा रहनु र पुलाको पक्षैमा पुलस्त्य ऋषिले यज्ञ गरेको “यज्ञशेष चरु” सुरक्षित रहेको छ भनेर मानिने हुनाले लंका र पुला (पक्षै) को आपसमा साइनो गाँसिन जान्छ । अर्थात तत्कालीन समयमा श्रीलंकादेखि पुलासम्म पुलस्त्य ऋषिको आउजाउ भैरहन्थ्यो र दुबैतिर उनी उत्तिकै मानिन्थे पुजिन्थे भन्ने प्रमाणित हुनजान्छ । रावण, कुम्भकर्ण, विभिषण, खर र सुपर्णखाहरुको जन्म र पालनपोषण काली गण्डकीको किनारमा अवस्थित पुलस्त्यआश्रम पुलामै भएको प्रमाण पनि भेटिने तथ्यले श्रीलंकादेखि काशी हुँदै पुला (नेपाल) को ऐतिहासिक, धार्मिक, सांस्कृतिक साइनो गाँसिन जाने देखिन्छ ।
विश्रवालाई स्वयम पुलस्त्यकै अर्को रुप मान्ने हो भने पुलस्त्य र रावण बाबुछोरा ठहर्छन् । रामायणमा भने झै विश्रवालाई पुलस्त्यका छोरा मान्ने हो भने रावण र पुलस्त्यको नाता बाजे–नातिको ठहर्छ । कैयौैं स्थानमा रावणलाई “पौलस्त्य” समेत भनिएको पाइने हुनाले उनी पुलस्त्यका सन्तति हुन् भन्ने कुरा भने प्रमाणित हुन्छ ।
गोबर्धन पर्वत बोकेर हिँडेको, छोराको रिसले आफैले अर्को रुप लिएको (योगबलबाट दोश्रो मानसरुप धारण गरेको) र स्वयम ब्रह्माजीका पुत्र अर्थात पहिलो पुस्ताको मानिस भएर त्रेतायुगमा जन्मेका रावणहरुको पालनपोषण गर्न भ्याएको जस्ता अपुरुषेय र अमानुषिक कर्महरु पुलस्त्यबाट कसरी सम्पन्न हुन सक्छन् भनेर प्रश्न गर्ने ठाउँ भने अवश्य छ । धर्मग्रन्थहरुकै मात्र भर पर्ने हो भने तिनको सन्तोषजनक उत्तर फेला पर्दैन ।
सत्य कुरा के हो भने हिन्दू धर्मग्रन्थहरुमा ब्रह्मापुत्र पुलस्त्यको कथाहरु लेखिएका छन् । रावणलाई उनकै नाति भनिएको छ । रावणको राज्य लंकामा थियो पनि भनिएको छ । रामका ज्यानी दुश्मन अयोध्याका राजकुमार रामको विवाह विदेहपुत्री सीतासँग भएको थियो भनेर पनि लेखिएको छ । यतिबेला नेपालको जनकपुर भनिने मिथिला नै सीताको जन्मभूमि हो भनेर मानिएको छ । त्यसैले अपुष्ट भए पनि रावण, राम, सीता र पुलस्त्य ऋषिहरु ऐतिहासिक पात्रहरु हुन् । ब्रह्मा, पुलस्त्य र रावणबीच तीनपुस्ते साइनो गाँस्दा कालगणनाको हिसाबले गलत ठहर्छ भन्ने हेक्का नराख्नु ग्रन्थकारहरुको कमजोरी हो । त्यस्तो गल्तीको कारण पनि स्पष्ट छ । मान्छेले लिपी र कागजको आविस्कार नगर्दासम्म ऋषिमुनि विद्वानहरुद्वारा रचना गरिएका ग्रन्थहरु श्रुतिस्मृतिबाट जोगाइएको हुन्थ्यो । सृष्टिदेखि यता जतिपनि प्रसंगहरु गुरुशिष्य परम्पराबाट जोगिएका थिए, तिनमा सुन्दै भन्दै जाँदा कैयौं कुराहरु छुटेहोलान्, कैयौ नयाँ कुराहरु थपिए होलान् । भन्दै सुन्दै जाँदा तथ्यहरु आपसमा गज्याङमज्याङ पनि परे होलान् । त्यसैले गर्दा पुलस्त्य र रावणका सन्दर्भमा पनि अमिल्दा प्रसंग जोडिएका हुनसक्छन् । हिन्दू धर्मग्रन्थहरु इशापूर्व १५०० देखि १००० तिर लिपिबद्ध भएका हुन् भनेर मानिन्छ । कागज उत्पादनको ऐतिहासिक तथ्यले भने त्यसलाई असम्भव देखाउँछ ।
दक्षिणपश्चिम श्रीलंकाको “पोलोन्नारुवा” भन्ने ठाउँमा अग्लो समुद्री चट्टानमा कुँदिएको पुलस्त्य ऋषिको पाषाण मूर्ति उपलब्ध छ । हालको पोलोन्नरुवाको पुरानो नाम “पुलस्थीपुरी” थियो भनेर पनि मानिदो रहेछ । यो तथ्यले पनि रावणको राज्य लंका थियो र पुलस्त्यसँग उनको कुनै नातासम्बन्ध अवश्य थियो भन्ने कुरा प्रमाणित गरिदिन्छ । लंकाका राजा भए पनि रावणको जन्म नेपालमै र त्यो पनि म्याग्दी जिल्लाको पुला भनिने ठाउँमै भएको हो भन्ने कुरा प्रमाणित हुन आउँछ । त्यसैले बुद्धमार्गीहरुका लागि लुम्विनी जस्तै रावणपूजकहरुका लागि पुला पनि पवित्र स्थान ठहरिन सक्छ । रावण लंकाको राजा मात्र थिएनन् । उनी तत्कालीन समयका प्रखर विद्वान वैज्ञानिक थिए भन्ने कुरा आफ्नो वाण लागेर मृत्युशैयामा पुगेका रावणसँग अर्तीउपदेश लिन आफ्ना भाई लक्ष्मणलाई रामले पठाएको प्रसंगले पुष्टि गर्दछ । अर्थात रावणसँग पुलाको नातो गाँसिनु एउटा गौरवको विषय हो भन्नु बढ्ता हुँदैन । -जनधारणा साप्ताहिकबाट
















