गृहमंत्री बादललाई चुनौती दिने यो घटना वास्तबमै समाजको प्रतिबिम्ब हो

140

‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’  यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा र छातीमा लागेको चोट देखाइन् । पाखुरामा लौरीका डाम छन् । घाँटी तल निल डाम र खाता बस्दै गरेका घाउ छन् ।  २९ वर्षकी बबिता अहिले काठमाडौँ प्रहरी परिसर सोह्रखुट्टेको हिरासतमा छिन् । उनीसहित १६ जना पारलैंगिक महिला (ट्रान्सविमन) लाई गएको बिहीबार (माघ ८ गते) बेलुका प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये बबितासहित चार पारलैंगिक महिला सोह्रखुट्टे प्रहरी बिटमा छन् ।

बबिताले लुगा तल झारेर चोट देखाउँदै गर्दा उनलाई ‘लाज’ भन्दा आफूले भोग्नु परेको पीडाको आकार देखिनु जरुरी लाग्यो । दुखिरहेको चोट देखाउँदै गर्दा महिला प्रहरीले ‘अनुशासन’ मा बस्न निर्देशन दिइन् अलि ‘कडा’ स्वरमा । बबिताले ओभरकोट लगाइन् ।  शनिबार अपरान्ह सवा ४ बजेतिर सोह्रखुट्टे प्रहरी बिटको हिरासत पुग्दा बबितासहित चारजना फलामे डण्डीको बार पारी भूईँमा प्लास्टिकको म्याट त्यसमाथि पातलो बिस्तरामा बसेका थिए ।

बबिताले आफ्नो परिचय दिइन् र बिहीबार बेलुका भएको घटनाको विवरण सुनाइन् । खाएको कुटाइ र गाली सुनाउँदै गर्दा बबितामा आक्रोश र नैराश्य एकसाथ देखिन्थ्यो । ‘आमा गाली दिए । कपाल भुत्ले । बुटले हाने । लौरी बजारे । शरीर सबै दुखेको छ । पशु जस्तो व्यवहार भयो । चौपायालाई पनि कुट्दैनन् यसरी, यस्तो व्यवहार गरिँदैन जस्तो हामी माथि भयो ।’

बबिता बोल्दै गर्दा अगाडि फलामे डण्डीको बारतिर आइन् आरती न्यौपाने । बिहीबार बेलुका काठमाडौँको मित्रनगरबाट पक्राउ पर्ने १६ जना पारलैंगिक महिला मध्येकी एक हुन् आरती ।

‘बिजी मल (काठमाडौँ–२६ गोंगबु, मित्रनगर) अगाडि हामी साथीहरु उभिरहेका थियौँ । दिनभर चिसो भएको थियो । बेलुका ६ बजेतिर हामी फिल्म हेर्न जाने भनेर त्यहाँ भेला हुँदै थियौँ । पछाडिबाट आएकाहरुले झ्यापझुप्पै कठालोमा समाते । चोर, डाँका वा अपराधी पो हुन् कि जस्तो लाग्यो ।’

२४ वर्षकी आरतीले भनिन्, ‘सिभिल ड्रेसमा आएका प्रहरी हुन् भन्ने पनि लागेन पहिले त । पछि अरु पोशाकमा रहेका प्रहरी पनि आएपछि पक्राउ गर्न आएका रैछन् भन्ने भयो । अलि ढुक्क भयो, धन्न गुण्डा रैनछन् भन्ने लाग्यो । तर त्यसपछि गरिएको बेइजती र कुटाइ गुण्डा हुन् कि भन्ने भय भन्दा भयानक थियो ।’

आफूहरु प्रहरीले भने जस्तो ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको र भेला भएर फिल्म हेर्न जाने तयारी हुँदै गर्दा पक्राउ पूर्जी पनि नदिई पक्राउ गरिएको आरतीले बताइन्।

‘कठालोमा समाते, हतकडी लगाए, भ्यानमा हाले । भ्यानमा एक महिला प्रहरी थिइन्, उनले हामीमाथि सारै नराम्रो व्यवहार गरिन्’, आरतीले भनिन्, ‘काम गर्नको अल्छीले केटी बनेर यौन व्यवसायमा लागेका केटाहरु हुन् भन्दै ती महिला प्रहरीले कपाल भुतलिन् । लात्ताले हानिन् । मुखमा थुकिन् ।’

आफूहरु ट्रान्सवुमन (पारलैंगिक महिला) रहेको र शारीरिक परिवर्तनका लागि हर्मोनहरु खाइरहेको तथा अरु उपचारहरु पनि गरेको जानकारी गराएको तर प्रहरीबाट दुर्व्यवहार नरोकिएको आरतीले बताइन् ।

‘यिनीहरुको कपाल त नक्कली (विग) हो भन्दै भुतल्दा सारै दुख्यो, अहिलेसम्म कपाल दुखिरहेको छ’, आरतीले भन्दै गइन्, ‘अनुहारमै थुकिन् । छाडा पशु जस्तै गरिन् हामीलाई । आमाको गाली गर्दा नराम्रो लाग्यो झन् ।’

‘आमाले पनि यस्तै गर्छ होला र त यिनीहरु यस्ता भएका’ भन्दै महिला प्रहरीले गाली गरेको आरती, बबितासँगै सञ्जु र प्राप्तिले बताए । २० वर्षकी सञ्जु लामा र २४ वर्षकी प्राप्ती ठकुरी पनि सोह्रखुट्टे प्रहरी बिटको हिरासतमा छन् ।

सञ्जुको टाउकोमा गहिरो चोट लागेको छ । टाँका लगाइएको घाउलाई ब्यान्डेजले छोपिएको छ । उनी अस्पतालमा हैन, टाउकोमा लागेको गम्भीर चोटसहित हिरासतमा छिन् जाडोमा सीमित लुगा र ओढ्ने ओछ्याउनेको सहारामा ।

मित्रनगरबाट पक्राउ परेका उनीहरुलाई सुरुमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क लगिएको थियो । साढे ६ बजेतिर त्यहाँ लगेर आफूहरुमाथि कुटपिट भएको सञ्जुले बताइन् ।

‘हामीले किन पक्राउ गरेको भनेर सोध्यौँ । पक्राउ पूर्जी माग्यौँ । उनीहरुले दिएनन् । पक्राउ गर्दा त कारण खुलाइन्छ नि हैन?’ ब्यान्डेज गरिएको टाउको समात्दै सञ्जुले भनिन्, ‘हामी कराउन थाल्यौँ, उनीहरुले कुट्न थाले । लात्ती हाने । बन्दुकको नालले हाने । लौरीले होने ।’ टाउकोमा गम्भीर चोट त्यही कुटाइले लागेको बताएकी सञ्जुले पाखुरा, छातीसहित शरीरका अरु भागमा चोट र निलडाम रहेको बताइन् ।

आरतीका अनुसार उनीहरु प्रहरीमाथि जाइ लागेका थिएनन्। उनले भनिन्, ‘उनीहरुले पूर्जी नदिइ, कारण नबताइ पक्राउ गरे । हामीले कारण माग्यौँ । उनीहरुले कुटे । कुट्दा थापिएर त बस्दैन नि रोक्न खोजीहाल्छ नि । त्यही कुटाई रोक्ने बेला सिसा फुट्यो । प्रहरीले त्यो सिसा हामीले उनीहरुलाई कुट्ने क्रममा फुटाएको भनेर गलत प्रचार गरिरहेको छ ।’

त्यसपछि आफूहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगिएको आरतीले बताइन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट महाराजगञ्ज लैजाने क्रममा आफूहरुमाथि थप कुटपिट भएको उनीहरुको भनाइ छ ।

आरतीले भनिन्, ‘तिमीहरुलाई चौकी भित्र पो धेरै कुट्न मिल्दैन, बाहिर निकालेर भाग्न खोजे भन्दै कुट्न त मिल्छ नि भन्दै चुटे । लगाएका लुगा पनि च्याते, नाङ्गै पारे । भ्यानमा पनि कुट्दै, तथानाम गाली गर्दै लगे ।’

महाराजगञ्जमा सबैलाई लगेपछि राति चार–चार जनाको दरमा चार प्रहरी चौकीमा आफूहरुलाई विभाजन गरेर हिरासतमा राखिएको उनीहरुको भनाइ छ ।

बिहीबार राति आरती, सञ्जु, बबिता र प्राप्तीलाई आफूहरुको चौकीमा ल्याइएको प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी अधिकारीले बताए ।

सोह्रखुट्टेपछि शनिबार चाबहिलस्थित गंगाहिटी प्रहरी वृत्त जाँदा त्यहाँ रहेका चारजनाको अवस्था ‘बिजोग’ देखियो । चारैजनासँग न्यानो लुगा थिएन । एक युवतीको स्वीटरको गला च्यातिएको थियो।

‘पक्राउ तथा त्यसपछिको कुटपिटको क्रममा लुगा च्यातियो’ काम्दै गरेकी उनले भनिन् । अर्की युवतीले पातलो कुर्तामाथि मजेत्रो ओढेकी थिइन् । अरु दुईजनासँग पनि लुगा थिएनन् न्यानो हुने गरी।

  लागेको चोट दुखिरहेको भए पनि आफूहरुले औषधि नपाएको उनीहरुको गुनासो थियो । उनीहरुको पनि छाती, पाखुरा, ढाडसहित शरीरका विभिन्न भागमा चोट तथा निल डाम छन् ।

सोह्रखुट्टे र गंगाहिटी जस्तै नयाँ बसपार्क र महाराजगञ्जमा चार–चारजना पारलैंगिक महिला छन् ।

१९ वर्षकी मुस्कान गुरुङ्ग पनि पक्राउ परेकी थिइन् । तर उनी भाग्न सफल भइन् । मित्रनगरबाट पक्राउ गरेर नयाँ बसपार्कको चौकीमा लगिएकी उनी त्यहाँबाट महाराजगञ्ज लैजान निकाल्ने क्रममा प्रहरी घेराबाट भागेकी हुन्।

उनको छाती र पाखुरामा चोट लागेको छ । तर फेरि पक्राउ पर्ने डरले उनी अस्पताल जान सकिनन् । ‘घरमै साथीहरुले घाउ सफा गरेर ब्यान्डेज गरिदिए’ मुस्कानले भनिन्, ‘नयाँ बसपार्क चौकीबाट हामीलाई भ्यानमा हालेर महाराजगञ्ज लैजान थालेको थियो । त्यहि बेला म भाग्न सफल भएँ । धन्नँ बाँचे । साथीहरुलाई त भ्यानमा झन कुटेछन् । भिडियो तथा फोटो हेर्दा मलाई लागेको चोट त केही होइन जस्तो भयो ।’

प्रहरीले आरोप लगाए जस्तो आफूहरु सो दिन ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको मुस्कानले बताइन् ।  ‘एक्कासी पक्राउ गरे । म त छाँगाबाट खसेको जस्तै भएँ । सादा पोसाकमा मात्रै देख्दा डर लागेको थियो । पछि बर्दीका प्रहरी पनि देखेपछि केही राहत मिल्यो । तर पक्राउ पूर्जी दिएनन् ।

भ्यानमा लगेर थुक्ने, कपाल लुछ्ने तथा कुट्न थाले’ उनले भनिन्, ‘चौकी लगेर पनि कुटेका हुन् । अझ बाहिर महाराजगञ्ज लैजाने क्रममा बाहिर निकाल्दै गर्दा लागुऔषध केसमा फसाइ दिन्छौँ भन्दै धम्क्याए ।’

मनोवैज्ञानिक रुपमा अस्थिर देखिएकी मुस्कानलाई आफू फेरि पक्राउ पर्छु कि भन्ने डर छ । तर अपराध के भन्ने थाहा छैन । ‘हामीलाई यौन पेशामा संलग्न हुन बाध्य पारिएको हो । काम पाए गर्न सक्छौँ नि । कसलाई मन हुन्छ र यस्तो गर्ने, तर त्यो दिन त हामीले त्यस्तो केही गरेकै थिएनौँ ।’

मुस्कानलाई चलचित्रका गीतमा नृत्य गर्ने मन छ । ‘राम्रो नाच्छु जस्तो लाग्छ । फिल्मका गीतमा नाच्न पाए हुन्थ्यो । तर खै यसरी कुटाइ खाइन्छ । पक्राउ परिन्छ कि भन्ने डर छ, के होला र ?’ यसो भन्दै गर्दा उनी उत्साहित हुँदै निराश देखिइन् ।

बिहीबार बेलुका उनी हतास र रगत बगिरहेको अवस्थामा आएको साथमा रहेकी साथीले बताइन् (जसले आफ्नो परिचय खुलाउन चाहिनन्) । अहिले पनि मुस्कान तर्सिने गरेको र आफूहरुले सम्झाउने प्रयास गरिरहेको उनले बताइन् ।

भाग्न सफल भएकी तथा हिरासतमै रहेकाहरुको भनाई एउटै थियो घटनाबारे । तर प्रहरीको दाबी भने फरक छ ।

बिहीबार बेलुका भएको घटनाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी ज्यादती र ‘बर्बरता’ को आलोचना र निन्दा भयो । त्यसपछि शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा आफूहरुमाथि हातपात भएपछि पक्राउ गरिएको दाबी गरिएको छ ।

शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई पक्राउ गरेको छ ।’

उनीहरूलाई अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरूलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको दाबी प्रहरीको छ ।

तर पक्राउ परेकाहरुको अवस्थाहरुले प्रहरीको दाबी भन्दा विपरित अवस्था देखाउँछ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक ९एलजिबिटिआइक्यू प्लस–लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, इन्टर सेक्स, क्वेयर० समुदायका व्यक्तिमाथि प्रशासन तथा सामुदायिक तहमा फरक व्यवहार र कतिपय अवस्थामा दुर्व्यवहारका घटना सार्वजनिक हुने गरेका छन् ।

त्यसमाथि पारलैंगिक महिला ९ट्रान्सवुमन० माथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा प्रहरी प्रशासनबाटै ज्यादतीका घटना बारम्बार हुने गरेका छन् ।

विश्वव्यापी रुपमा भएका अध्ययनहरुले विशेषगरि ट्रान्सजेण्डर महिलाहरु दुर्व्यवहारको निशानामा पर्ने गरेको देखाउँछ । त्यसको प्रभाव मनोसामाजिक स्वास्थ्यमा गम्भीर र दीर्घ रुपमा पर्ने गरेको छ ।

ह्युमन राइट्स वाचले बारम्बार ट्रान्सजेण्डर ९विशेषगरि महिला० शारीरिक तथा यौन दुर्व्यवहारको निशानामा पर्ने गरेको भन्दै विगतदेखि नै सचेत गराउँदै आएको छ । सुरक्षाको जिम्मा पाएको प्रहरी प्रशासनबाट नै पारलैंगिक महिलामाथि हुने ज्यादतीका घटना हुने गरेको भन्दै मानवअधिकारवादीले निन्दा गर्ने गरेका छन् ।

बिहीबार पारलैंगिक महिलामाथि भएको प्रहरी ज्यादतीको विरोधमा सामाजिक सञ्जालका प्रयोगकर्ता तथा मानवअधिकारको वकालत गर्नेहरु लागेका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको सुरक्षा तथा अधिकारको पक्षमा काम गर्दै आएको निल हिरा समाजले सो घटनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोग तथा प्रहरीमै पनि उजुरी दिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान महाशाखाका उपसचिव लोकनाथ बास्तोलाका अनुसार आयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि हुने गरेका दुर्व्यवहार तथा मानवअधिकार हननका उजुरी पर्ने गरेको र त्यसमा धेरै ट्रान्सजेण्डर महिला तथा पुरुष बढि निशानामा पर्ने गरेको देखिन्छ ।

(देश सञ्चारका लागि टंक ढकालबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here