प्रधानमंत्रीको पशुपतिको यात्रा सिद्राको ब्यापार

125

 – जयराम बिडारी

अकर्मण्यता बर्तमान राजनैतिक घटनाक्रमको कारक हो । शासन संचालनका बिधि प्रकृयाका तत्व जे सुकै भएपनि आखिरमा देशको अमन चयन र जनअपेक्षा पुरा हुन् सकेन । नेताहरुको मिठा तिता वा गुलिया नारा र भाषणमा निमग्न हुनुलाइ हाम्रा चेतनास्तर बृद्धिको मापक ठान्ने हो भने हाम्रो निर्णय क्षमता अर्को १०० बर्षमा पनि समान गतिमा चलायमान रहन्छ । सचेत नागरिक समाजको गहना हो तर कहिलेकाहि त्यहि सचेतताले समाजलाई गिज्याइरहेको हुन्छ । तर आजकल चेतनास्तर बढेको हावादारी तर्क दिएर मानिसहरुको संबेदनसिलता संग खेलवाड गरिंदैछ ।हामीले कुनै दल वा तीनका नेताले गरेका नराम्रो पक्षलाइ छोपेर राम्रा अनि कुटिल प्रयत्नहरुलाइ सिंगारेर पस्किने सामग्री हरुलाइ आधार मानेर जुन खालको धारणा बनाउछौं त्यसैको संबेदनसिलताले हामीलाइ मुर्र्छित पारेको छ हामी स्वतंत्र रुपमा बहश र बिश्लेषण गर्ने कर्ममा शिथिल भइरहेका छौं ।

बर्तमान अवस्थामा नेपाली समाज पुर्ण रुपमा बिभाजित छ जसरी ०६२/०६३ को कथित जनआन्दोलनमा थियो नेकपा पार्टी एकता स्वार्थहरु मिल्दा चाटाचाट र स्वार्थ नमिल्दा काटाकाट गर्ने प्रबृति पुरानै हो । स्वार्थको बिनिमय गरेर गरिएको एकताले बास्तविक रुपमा दुइ भिन्न दललाइ आज ए कता ? भन्ने अवस्थामा मात्र पुर्याएन, एक अर्काप्रतिको टिका टिप्पणी सुन्ने हो भने एक अर्काको खुनको प्यासा रहेको जस्ता अभिव्यक्तिले देखाउंछ । स्वार्थहरुको टकराव का कारणले दुवै पक्ष ओली पक्ष र प्रचण्ड पक्षमा देखिएको अन्यौलता र जनता भड्काउने अभिव्यक्ति अनि आफ्नो पक्षमा जनमत सृजना गर्ने होड शक्ति प्रदर्शन ले आ-आफ्नै योजना बुनिरबेछन् भने ओलीले यतिबेला नेपालीजनको मनोबिज्ञानलाइ बुझेर अनि नेपालीहरुको नाडी छामेर नयाँ खालको अधिनायकवाद, सर्वसत्तावाद वा शैनिक शासन वा राजतंत्र पुनर्स्थापित गर्ने प्रयास गर्ने रणनीति तय गर्दैछन् भने अर्को तिर नेपाली हरुको धार्मिक मनोविज्ञान माथि नया प्रयोग गर्न खोजिरहेछन् ।

प्रचण्ड पक्ष भने जनप्रदर्शनका नाममा धनप्रदर्शनमा निमग्न छन् अव हामीले हाम्रा चेतनास्तर मापन गर्ने कि नगर्ने ? यो अत्यन्त चोटिलो प्रशनका रुपमा उपस्थित छ । प्रचण्ड माधव पक्षबाट गरिएको भनिएको जन वा धनप्रदर्शनमा ती निर्दोष जनताका टाउको देखाएर उनिहरुको संबेदनशिलतामा कुटिल चाल चलेर आफ्नो स्वार्थको डम्फु बजाउन पाइदैन ।लकडाउनका समयमा २०/२५ दिन लगाएको भोकै प्यासै आ-आफ्ना गन्तब्यमा निस्किएका ती निरीह जनतका प्रति कुनै सहानुभूति नदेखाउने कुनै पनि राजनैतिक दलहरुले आज कुन आम्दानीको स्रोतले गाडी रिजर्भ गरेर मासुभात ख्वाएर जनप्रदर्शन गर्दैछन् ? ती निरिह जनताको दुरुपयोग गर्न यीनलाइ लाज लाग्दैन ? जसरी एक स्त्रीले प्रशवबेदनाका बखत सांसारिक सुखभोगको लालसाको कल्पना गर्दिनन् त्यसैगरि बार-बार धोका अविच्छिन्न अविश्वास छलकपटपूर्ण ब्यवहार हुंदा हुदै पनि अनवरत रुपमा तीनको पछि कुदिरहने कार्यकर्ता तीनका झोलेहरुले र आमजनता तीनको स्वार्थी खेलको पछि गोटीको रुपमा प्रयोग भइ नै रहने हो भने हामीले हाम्रा चेतनाको स्तरलाइ पुन एक पटक नाप्ने कि ननाप्ने ? यस्ता कुरा हरुलाइ नयां ढंगले बिवेचना गर्नु आवश्यक छ ।
नेपालको भूराजनैतिक अवस्थिति र नेताहरुका असक्षमता एवं अकर्मण्य ब्यवहार अनि इतिहासमा कहिल्यै पराधीन नभएको र बर्तमानमा अवस्थामा कहिल्यै स्वाभिमानको रक्षा गर्न नसकेका हाम्रा भाग्य बिधाता भनिएका हाम्रा नेताहरुको स्तरलाइ दृष्टिगत गर्दा हाम्रा नेतालाई विदेशीले बढ्तै खेलाएको महसुस गरेका छन्।यो कुरा साँचो पनि हो । हाम्रा नेताहरु नव सामन्त नवधनाढ्य अनि पिर्के राजाको रुपमा यीनको चकचकी र बिगबिगीका साथ स्थापित हुनुले पनि उनिहरुको प्रति जनताको हेर्ने दृष्टिकोण फरक भएको हुनु पर्छ ।
हाम्रो मुलुकमा कुनै मुश्लिम राष्ट्रमा जस्तो हिन्दुधर्म अनुसार कट्टर रुपमा शासन चलेको थिएन । किनकि हिन्दु प्रजातांत्रिक संस्कार सहितको बृहद दर्शन हो ।शासन सत्तमा हिन्दुत्वको लेस मात्र पनि गन्ध थिएन तर पनि राजनैतिक कोपभानमा हिन्दुत्वलाइ पारियो र हठात् धर्मनिरपेक्षता लादियो ।हिन्दुत्वलाइ चलाउनु नै किन पर्ने थियो र ! अथवा शासन संचालनमा धर्मको नाम नै उल्लेख नगरे हुन्थ्यो । वा धार्मिक “स्वतन्त्रता भएको मुलुक” सम्म लेखे पनि हुन्थ्यो । तर अनावश्यक हिसाबले झगडाको बिउ रोप्नका लागि धर्मनिरपेक्षता लेखाइयो । यसले खासमा कुनै बर्ग र समुदायलाइ राम्रो गरेको देखिएन, वहुसंख्येक हिन्दुलाई चित्त दुखाउने कामबाहेक । उल्टो सहिष्णुता खलबलाएको छ ।
ऐले यस्तो बेला यिनै मुद्दामा चित्त नबुझाएकाहरुले कोही अधिनायक जन्मियोस् र यी कुरा स्थापित गरिदियोस् अर्थात् गणतन्त्र धर्मनिरपेक्ष र संघियता खारेज होस् भन्ने पनि चाहेका छन् कुनै एक समयमा गणतन्त्रको बिरुद्धमा लेख्नु र बोल्नुलाइ अराजकताको पराकाष्ठा मानिन्थ्यो अहिले समय बदलिएको छ । यस्ता आवाज दिनेहरु आज प्रशस्त मात्रामा रहेका छन् । राजनैतिक समाजमा शुद्ध हावा मात्र बहेको हुदैन बिषाक्त हावा पनि बहेको हुन्छ तर एउटा कुरा चाहिं के सत्य हो भने शासकले आफैंलाइ चिनेनन् र जनचाहना अनुसार शासन संचालन नगरेको भएर शासकको मात्र नभएर ब्यवस्थाकै बिरुद्धमा आवाज उठ्नु अस्वभाविक होइन तर पनि आरोप र आलोचना सुनेर कार्यान्वयन नगर्ने सरकार जनताको दुश्मन हो । आरोप र आलोचनाने मानिसलाइ थप ज़िम्मेवार पनि बनाउंछ भन्ने मेरो मान्यता छ । बर्तमान परिबेशलाइ बिश्लेषण गर्दा त्यो जिम्मेवारी कति पुरा गर्छु त्यो चाहिं पाठकहरुको मुल्यांकनको कुरा हो र महत्वपूर्ण कुरा हो । कतिपय अशल मनका मित्रहरुले मेरो त्यो जिम्मेवारी पुरा नहोलाकि भनेर चासो र चिन्ता ब्यक्त गर्नुभयो भने पनि त्यसलाइ स्वभाविकता कै रुपमा बुझेर आफ्नो जिम्मेवारी बहन गर्नेछु र हार्दिकताका साथ स्विकार गर्नेछु ।
(१)म कुनै दलबिशेषको दलदास होइन स्वतन्त्र र निर्भिक नागरिक हुं। मेरो बिश्लेषणको आधार केवल देश र जनता अनि बिषयबस्तु र मुद्धा हुनेछ पात्र र प्रबृति गौण कुरा हो ।
(२) म ब्यक्तिगत रुपमा कसैलाइ लखेट्दिन तर गलत प्रबृति लाइ छोड्दिन जस्तै कतिपय पात्रहरुका बिषयमा
गर्न चाहन्छु । केपी ओली निरंकुशता भनिएको पंचायती ब्यवस्था को बिरुद्धमा १४ बर्ष जेल बसेको मानिस हुन् तर प्रचण्ड र बाबुराम बहुदलिय ब्यवस्था को बिरुद्धमा सशस्त्र आन्दोलन गरेर १७ हजार नेपाल आमाका छोरा छोरीको सामुहिक हत्याकाण्डको योजनाकार हुन ।
(३) गिरीजा प्रसाद कोइराला प्रचण्डको मिठ्ठो ललिपपमा भुलेर उधारो राष्ट्रपतिको लोभमा फसेर नेपाली कॉंग्रेसको मौलिक सिद्धान्त संवैधानिक राजतंत्र र बहुदलिय प्रजातंत्रको हत्यारा हो । बर्तमान गणतान्त्रिक मुलुकको प्रमुख समस्या पनि गणतन्त्र नै हो । (४) शेरबहादुरको कुरा गरिरहनु आवश्यक परोइन किनकि उनी गर्वका साथ गान्धी जयन्ति मनाउछन् तर पृथ्वी नारायण प्रति चरम बितृष्णाा छ उनको ।
(५) मधेसबादी दलहरुको के कुरा गर्नु पर्यो ?
(६) देश तथा जनतको आमूल परिवर्तन गर्नका लागि भनेर भारतीयको संरक्षणमा कथित संघर्ष गरिएको भनिएको माओवादी सशस्त्र संघर्षले नेपालको राजनैतिक अधिकार बिदेशीलाइ बुझाएको तितो यथार्थता हाम्रा सामू छर्लंगै छँदैछ ।
(७) नेपाललाइ बिभिन्न जातिय राज्यमा बिभाजनमा परिणत गर्ने माओवादीको कुटिल चालका बिरुद्धमा एक्लो सतिसालझैं उभिने केपीको दर्बिलो हिम्मत र बर्तमान परिणाम हाम्रा सामू प्रष्ट छ ।
(८) नाकाबंदीको बिरुद्धमा राष्ट्रीय अस्तित्व लाइ उंचो पार्ने केपीको कदमलाइ कसरी नज़रअंदाज़ गर्न सकिन्छ ?
(९ ) ल्याण्डलक देशलाइ ल्याण्डलाइनका रुपमा बिकशित गर्ने केपीको प्रयास लाइ सराहनीय नमान्नुपर्ने कारण केही छ जस्तो मलाइ चाहिं लाग्दैन ।
यति हुंदा हुंदै पनि केपी ओलीका हज़ारौं दुर्गुण छन् तीनलाइ क्रमश प्रकाश पार्दै गरौंला तर प्रस्तुत सन्दर्भहरुलाइ लिएर उनको स्तुति र निन्दा भन्दा पनि एक आम नागरिकको हिसावले सत्य कुरा लाइ समर्थन र गलत कुराको बिरोध हुनु आवश्यक छ ।
अव धार्मिकता भित्रको राजनैतिक चालबाजीका बारेमा थोरै बहशमा जानु उपर्युक्त हुनेछ । राष्ट्रप्रमुखका रुपमा केपी ओलीले यो देशको सत्ता संचालन गरेको यो दोश्रो पटकको दौरानमा पशुपतिनाथ को दर्शन यात्रालाइ लिएर बिभिन्न कोणबाट परिचर्चा गरिएको पाइन्छ बिशेष गरेर कम्युनिस्ट हरुले धर्मलाइ अफिम संग तुलना गर्ने भएकोले कम्युनिस्ट प्रम राष्ट्रदेवको शररणमा , ढिलै भएपनि कम्युनिस्ट प्रमको मति फ़िरेछ पशुपति नाथको शरणमा अव हिन्दु राष्ट्र फर्किने संकेत , कुल पित्री इस्ट र जीवनमा गरेका पाापको प्रायश्चित जस्ता कुरा हरुको बिशेष चर्चा देखिन्छ । बैदिक सनातन परंपरानुसार हाल सुक्रअस्तको समय चलिरहेको अवस्थामा कुनै पनि खालका धार्मिक गतिविधि नगर्ने प्रचलन रहेको अवस्थामा पशुपति नाथमा सवालाख दीप प्रज्वलनको कुनै अर्थ देखिंदैन । धर्मनिरपेक्षता लादिएपछि रुष्ट रहेका बैदिक सनातनी हिन्दूहरुको आस्था माथि प्रयोग गरिएको कुटिल दुस्प्रयास मात्र हो । धर्मका लागि मन्दिर मश्जिद गिरिजाघर कहिं जानु पर्दैन भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ अर्को कुरा मन्दिर जांदैमा मानिसहरु धार्मिक पनि भइहाल्दैनन् । सवैतिरका चुनौतीको सामना गर्दा गर्दैको दिग्दारीपूर्ण अवस्थालाइ केही राहत मिलोस् र बहुसंख्यक हिन्दुहरुको भावनामा खेल्न सकियोस् भन्ने प्रमुख उद्धेश्यले पशुपतिको यात्रा सिद्राको ब्यापार गर्न पुगेका प्रधानमंत्रीले सामाजिक संजालमा मिश्रित प्रतिक्रियाको सामना गरिरहेछन् । आवश्यक स्वार्थ पूर्तिका खांतिर प्रचण्डले कुनै समयमा भैसी पूजा गरेको प्रसंग पनि केही बर्ष अघि चलेकै हो यीनिहरु आफ्ना स्वार्थका निमित्त धार्मिकताका रुपमा भन्दा उपयोगितावादको सिद्धान्तानुसार प्रयोग हुन्छन् भन्ने कुरा जगज़ाहिर छ । यसैप्रसंगमा चर्चित अभिनेत्री रेखा थापाले पनि बरको रुखसंग बिवाह गरेको प्रसंग पनि खुवै चर्चामा आएको थियो । यी र यस्ता प्रसंगलाइ हेर्दा एउटै निस्कर्ष निसकन्छ त्यो हो स्वार्थ ,पशुपति नाथमा पूजा गरिएको कुराको चुरो कुरो पनि केवल हिन्दुहरुको जनमतलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने नै हो नत्र भने हाम्रा राष्ट्र प्रमुखलाइ पशुपतिको दर्शन गर्न यति समय किन लाग्थ्यो होला र ?
गल्ति मानिसबाट हुन्छ त्यसलाइ सुधार्नुपर्छ हिजो धर्म निरपेक्षतालाइ गणतंत्र लाइ संघियता लाइ चोर बाटो बाट छिराएर नेपाली जनताको भावना माथि खेलवाड गरियो सपथ ग्रहण गर्दा इश्वरको नाम लिंदा मालिक रिसाउलान् झैं गरियो आज त्यसलाइ सच्याउने मनसाय हो भने नेपाली जनताले प्रष्ट सुन्ने गरि माफि माग्नु पर्यो तर सम्भावित चुनावमा हिन्दुहरुको मतको ब्यापार गर्न खोजिएको हो भने त्यो किमार्थ स्वीकार्य हुने छैन भन्ने यो लेखको आशय हो । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here