म्यानमारमा सेनाले गरेकाे ‘कू’को विरोधमा दिनहुँ हजारौंको प्रदर्शन

354

याङ्‍गुन। म्यानमारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौं मानिसहरू सडकमा उत्रिएका छन्। आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ।

प्रदर्शनकारीले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूची र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाइ गर्न माग गरेका छन्। म्यानमारको सबैभन्दा ठूलो सहर याङ्‍गुनस्थित याङ्‍गुन विश्वविद्यालय नजिक दुई हजारभन्दा बढी श्रम संगठन र विद्यार्थीहरु समेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए।

नेतृ सूची र राष्ट्रपति मिन्टसहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ।

प्रदर्शनकारीलाई विश्वविद्यालयको मुलढोका बाहिर निस्कन नदिन दङ्‍गा प्रहरीले कडा पहरा दिएका थिए। पानीको फोहोरा फाल्ने दुई वटा ट्रकसमेत तैनाथ गरिएको थियो।

आइतबार सेनाले इन्टरेनटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्‍विटर र इन्स्टाग्रामसहित फेसबुक बन्द भएका छन्।

म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ। दङ्‍गा प्रहरीहरूले याङ्‍गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ।

“हामी सैन्य तानाशाहबाट देश र जनतालाई स्वतन्त्र पार्न र आगामी पुस्ताको अधिकारका निम्ति लड्न आएका छौं,” र्‍यालीका एक महिला सहभागीले बताइन्। म्यानमारमा अप्रजातान्त्रिक सोचलाई सदाका लागि अन्त्य गरी दीर्घकालीन शान्ति तथा सुव्यवस्था कायम गर्न सडकमा आएको एक प्रदर्शनकारीले बताए।

म्यानमारस्थित अमेरिकी दूतावासले सेनालाई सत्ता परित्याग गर्न र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई पुनर्वहाली गर्न तथा नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्न, दूरसञ्‍चार अवरोध हटाउन तथा हिंसाको प्रयोगलाई निरुत्साहन गर्न आग्रह गरेको छ।

दूतावासले ट्‍वीट गर्दै म्यानमारका जनताको प्रजातान्त्रिक ढंगबाट चुनिएको आफ्नो सरकारको पक्षमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका सदैव खडा हुने जनाएको छ।

शुक्रबार अनलाइन बैठक गर्दै सूची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरुले आफूहरु जनताको प्रतिनिधि भएको भएकाले अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचित संसद् र सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध गराउन आफूहरुले हरसम्भव प्रयास गर्ने बताएका छन्। उनले म्यानमारमा भएको सैनिक सत्ताविद्रोह फिर्ता गराउन उपयुक्त वातावरण तयार पार्ने पनि जनाएका छन्। रासस/एपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here