नारी दिवसकाे अवसरमा गूगलले डूडल फेर्‍यो

79

काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गूगलले आफ्नो डूडल परिवर्तन गरेको छ । नारी दिवसलाई लक्षित गरेर गूगलले महिलाहरुबीच विविधतामा एकता भएको झल्काउने किसिमको डूडल राखेको हो ।

डूडलमा विभिन्न जात, भूगोल, वर्ण आदिका महिलाहरुले एकअर्काको हात पक्डेर उचालेको सांकेतिक चित्र देख्न सकिन्छ । उक्त चित्रमा थिच्दा सांकेतिक भिडियो चल्न थाल्छ । जसमा वैज्ञानिक, शिक्षक, गायक, वकिल, लेखक, चित्रकार, नेता, व्यवसायी, पाइलट, खेलाडी, पर्वत आरोही लगायत विभिन्न पेशामा संलग्न महिलाहरु एक अर्कासँग हातेमालो गरिरहेका हुन्छन् ।

गूगलले जुनसुकै विशेष दिन वा अवसरमा यसैगरी आफ्नो डूडल परिवर्तन गर्ने गरेको छ ।

आज मार्च ८ का दिन विश्वव्यापी रुपमा नारी दिवस मनाइने भएकाले महिलाहरुलाई समपर्ण गर्दै यस्तो भिडियो तयार पारिएको हो । विभिन्न देशमा कार्यक्रम, गोष्ठी, सेमिनार, बैठक तथा अभियानहरु आयोजना गरेर लैंगिक विभेद अन्त्य गर्दै महिलाको हकअधिकारको स्थापना गर्ने उद्देश्यले मनाइने यस दिनमा सामाजिक, आर्थिक, राजनीतिक, व्यवसायिक, सांस्कृतिक आदि क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुको उपलब्धिको पनि सम्मान गरिन्छ ।

सन् १९१४, मार्च ८ मा जर्मनीमा पहिलोपटक मनाइएको यस दिवसलाई अहिले विश्वभरि मार्च ८ कै दिन मनाइन्छ । महिलाको मतदान अधिकार सुनिश्चित गर्नका निमित्त उक्त दिनलाई ‘नारी दिवस’का रुपमा मनाइएको थियो । यसको ठीक चार वर्षपछि सन् १९१८ मा मात्रै जर्मनीका महिलाहरुले चुनावमा मतदान गर्ने अधिकारको लडाइमा विजय प्राप्त गरेका थिए ।

नेपालमा पनि यस दिनलाई विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, अभियान सञ्चालन गरेर मनाइँदै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here