एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नु पर्ने

283

काठमाडाैं । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरि विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिए। उनले भने, “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वाध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउन सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उनले बताए।

पढाउने कुराको सहज व्यवस्थापनका लागि मात्र कोरोना भाइरसको सङ्क्रमणको अवधिमा पाठ्यक्रमा सङ्क्षेपीकरण गरिएको भए पनि त्यसले परीक्षामा कुनै असर नगर्ने उनले स्पष्ट गरे। यसका साथै विगतका वर्षहरूमा जसरी परीक्षा सञ्चालन गरिएको थियो, त्यसकै आधारमा परीक्षाको कार्यक्रम अघि बढ्ने बोर्डले स्पष्ट गरेको छ । गत वर्ष विद्यालयले नै गरेको अन्तिम आन्तरिक मूल्याङ्कन आधारमा एसईईका विद्यार्थीको नतिजा सार्वजनिक गरिएको थियो । सरकारी अधिकारीले यसलाई अपवाद भनेका छन् ।

परीक्षा नियन्त्रक खकुरेलले विगतमा जस्तै एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । प्रयोगात्मक हुने विषयको हकमा भने ७५ अङ्कको परीक्षा र २५ अङ्कको प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।गोरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here