काठमाडौं–राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन्। नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्री ओली पदबाट हट्नु पहिलो आवश्यकता भएको जनाएका छन्।
आइतबार आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने जनाउनु भयाे । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको उनको धारणा थियो। ‘सरकारले राजनीतिमा देखाउनुपर्ने नैतिकता देखाएन,’ उनले भने, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन, जनता समाजवादी पार्टीले पनि पार्टीबाट अनैतिक सरकारको राजिनामा गराउनका लागि पहल गरेको छैन।’
प्रमुख प्रतिपक्षी दलका रुपमा कांग्रेस नेतृत्वका लागि तयार रहेको बताउँदै उनले संख्या नपुगी सरकार परिवर्तनको कुरा गरेरमात्रै नहुने बताए। ‘कम्युनिष्टको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पूरा गर्न सकेको छैन,’ उनले भने, ‘अब देशलाई राजनीतिक अस्थिरताबाट मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको धारणा छ ।’


















