लामखुट्टे मार्न म्याद गुज्रिएका औषधि प्रयाेग गर्दा स्वास्थ्यमा समस्या

400

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए ।उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको छ ।

छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले जनाए। वडाध्यक्ष राकेश राउतले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरे । उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने जानकारी दिए। स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here