बेनी । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गृहमन्त्रालयले हाइअलर्ट राखेसँगै बिदेशबाट आएर म्याग्दी जिल्ला प्रवेश गर्ने सबैलाई १० दिन क्वारेन्टीन बस्ने नियम बनाइएको छ ।
बिदेशबाट आएकाहरुमा कोरोनाको नयाँ भाइरसको संक्रमण र फैलावटलाई ध्यानमा राखेर १० दिन अनिवार्य क्वारेन्टीन बस्नु पर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारी निकायले तोकेको तथा ब्यक्तिगत ब्यवस्थापन गरेपनि मापदण्डको पालना गर्ने गरी क्वारेन्टीनमा बसेर लक्षण नदेखिएमात्रै घर जान पाउने नियम बिहीबार बिहान १२ बजे देखि लागु भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको र सबै नागरिकलाइ हाल नियम पालना गर्नक लागि अनुरोध गरेका छौं सहायक प्रजिअ पन्तले भन्नुभयो ।
उत्तरी म्याग्दीको एक जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुमा कोभीडको संक्रमण देखिए पछि जिल्लामा सुरक्षा सतर्कता उच्च पारीएको हो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टी भएपछि विदेशबाट आउने मजदुर एवम् स्वदेशी नागरिकहरुलाई पनि १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएपछि पठाउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार स्वास्थ्य मापदण्ड पुरा गर्ने, बाहिर हिड्दा मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टीन, आइसोलेसन कक्षलाई चुस्त राख्ने, पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने, बेनी अस्पतालमा चेकजाँचलाई ब्यवस्थित तथा भौतिक दुरी कायम गर्ने, हरेक निजी तथा सार्वजनिक संघसंस्था बाहिर अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको छ । गाेरखापत्रिका



















