नेता नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी

71

काठमाडौँ/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले एमालेबाट निकालेर आफू ननिकालिने दाबी गरेका छन्।

बुधबार आफू पक्षीय युवा संघको राष्ट्रिय भेलामा पत्रकारहरुसँग संक्षित कुराकानी गर्दै नेता नेपालले पार्टी निर्माणमा आफ्नो योगदान ओलीको तुलनामा निक्कै बढी भएको भन्दै कसैले निकालेर ननिकालिने जनाएका हुन्।

ओलीप्रति निक्कै रुष्ट देखिएका नेपालले भने, ‘कारबाहीको अर्थ छैन। हामीले अस्वीकार गरिसकेका छौँ। यो पार्टीमा उहाँले हामीलाई ल्याएको होइन, कोअर्डिनेशन, माले, एमाले बनाउन उहाँको भूमिका छैन, मेरो भूमिका छ। मलाई केपी ओलीले निकाल्ने त्यो पनि कसैले सोच्न सक्छ?’

उनले देशभर समानान्तर पार्टी निर्माण गर्ने आशयसमेत व्यक्त गरे।

‘संगठन र पार्टीबाट निकालेपछि आन्दोलनका साथ हिँडिनेछ, शसक्त रुपमा अघि बढिनेछ। देशभरिका कार्यकर्ताले भनेको आधारमा हामी अघि बढ्नेछौँ,’ नेपालले अगाडि भने, ‘देश र जनताको हितका खातिर निरन्तर लागि रहनेछौँ। हाम्रो यात्रालाई कसैले रोक्न सक्दैन। केपी ओली त केही पनि होइनन्।’

सोमबार ओलीले नेपालसहित नेता भीम रावललाई पनि बार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका छन्। पार्टीभित्रको अन्तरद्वन्द्व बढ्दै जाँदा नेपाल पक्षले देशभर समानान्तर पार्टी निर्माणको थालनी गरेको छ।

नेपालले ओली कम्युनिष्ट आन्दोलनका लागि समस्या मात्रै भएको आरोप लगाए। आफूलाई समाधान र ओलीलाई समस्याका रुपमा चित्रित गरेका वरिष्ठ नेता नेपालले ओली गुट मात्रै भएको जिकिर गरे।

भने, ‘उनको इतिहास गर्ने हो भने न आन्दोलन न संगठन, केपी ओली भनेको गुटको अर्को नाम मात्रै हो। मैले उहिल्यैदेखि भनेको छु, ओली भनेको समस्या हुन्, माधव नेपाल समाधान हुन्।’

एमालेलाई २०७५ जेठ २ गते अघिको अवस्थामा फर्काए ओलीसँग सहकार्य हुन सक्ने तर उनी सुध्रने मान्छे नभएकाले त्यसप्रति विश्वास नभएको नेपालले जनाए।

‘केपी ओली एण्ड कम्पनीसँग त्यति बेला मात्रै सम्झौता हुन्छ, जति बेला सर्वोच्चको आदेशअनुसार २०७५ साल जेठ २ गतेभन्दा अघिको अवस्थामा एमाले फर्किन्छ। त्यो विन्दुमा उहाँ आउनुहुन्छ, त्यस बेलाको संगठन र पदाधिकारीलाई स्वीकार गर्नुहुन्छ भने ओलीसँग सम्झौता हुन सक्छ,’ उनले अगाडि भने, ‘ फागुन २८ गतेको निर्णय फिर्ता लिन हुन्छ भने अझै एउटा आशाको त्यान्द्रो बाँकी छ। उहाँ सुध्रिनुहुन्छ भन्ने लाग्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here