अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा

59

काठमाडौं । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार देशका सातै प्रदेशमा आउँदो साता बदली र वर्षाको सम्भावना रहेको छ । वर्षा शुक्रबारदेखि राजधानी उपत्यका लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।

साताका अधिकांश दिनमा हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो । तराईका भूभागमा साताको सुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ ।

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यसैगरी प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यको समयमा थोरै स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना रहेको छ ।

यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायु दुवै सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here