यस्ताे रह्याे अमेरिकी राष्ट्रपति बाइडेनकाे १०० दिनकाेे नेतृत्व !

63

काठमाडौं/अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका विश्व समुदायमा विभिन्न मुद्दामा नेतृत्वदायी भूमिका खेल्ने गरि आएको र त्यसलाई कायम राख्नका लागि आन्तरिक रुपमा राजनीतिक मत भिन्नता रहे पनि सहकार्यको खाँचो रहेको जनाएका छन् ।

आफ्नो कार्यकालको पहिलो १०० दिनको अवसरमा नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकी संसद (हाउस अफ रिप्रिजेनटेटिभ र सिनेट) को संयुक्त शत्रलाई सम्बोधन (स्टेट अफ दि युनियन स्पीच) गर्दै बाइडेनले आफ्नो प्राथमिकता अमेरिकी जनजीवनमा सकारात्मक प्रभाव ल्याउने र विश्व मञ्चमा नेतृत्वदायी भूमिका खेल्नु रहेको उल्लेख गरेका हुन् ।

अमेरिकाको इतिहासमा बाइडेन पहिलो राष्ट्रपति हुन्, जसले दुई शक्तिशाली महिलालाई पृष्ठभूमिमा राखेर स्टेट अफ दि युनियन सम्बोधन गरे । उपराष्ट्रपति कमला ह्यारी र सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा बाइडेनले सदनको संयुक्त शत्रलाई सम्बोधन गरेका हुन् ।

उनले सम्बोधनको क्रममा आर्थिक मुद्दालाई प्राथमिकतामा राखेका छन् । पूर्वाधार विकासका लागि ल्याएको चार ट्रिलियन डलर बराबरको महत्वकांक्षी योजनाबारे बिस्तृतमा बताउने प्रयास बाइडेनले गरे ।

उनले रोजगारी सिर्जना, सामाजिक सुरक्षा, बाल स्याहार, शिक्षा तथा समताको पक्षमा आफ्नो प्रशासनले काम गरेको र त्यसका लागि राजनीतिक विचारधारा भन्दा माथि गएर सहकार्यको अपेक्षा रहेको जनाए । उनले आप्रवासनका मुद्दामा सबै विषयमा सहमत हुन नसकेपछि सहमत हुने विषयमा मिलेर काम गर्न रिपब्लिकनसँग अपिल गरेका छन् ।

बाइडेनले सम्बोधनको क्रममा जलवायु परिवर्तन आफ्नो प्राथमिकताको विषय रहेको पुनः दोहोर्‍याएका छन् । तत्कालका लागि कोरोना भाइरसको महामारीलाई जित्नु आवश्यक रहेको भन्दै उनले खोप लगाउन सबै अमेरिकनसँग अपिल गरे । आफ्नो नेतृत्वमा सबैसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको भन्दै उनले डरको स्थानमा आशालाई केन्द्रमा राखेर काम गरिने जनाएका छन् । रिपब्लिकन सिनेटर टिम स्कटले जवाफी सम्बोधनमा बाइडेनको योजना ‘झुठ वा समाजवादी सपना’ मात्रै रहेको दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here