काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अध्यादेश जारी गरिँदा संविधानको मर्म र लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन्। रावलले लेखेका छन्,‘संसदको अधिवेशन अनिवार्य आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी! संविधानको मर्म र लोकतन्त्रको उपहास!’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै यही वैशाख २७ गतेको लागि संसद्को अधिवेशन आह्वान गरिसकिएको छ। यही बीचमा मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेपछि सत्तारुढ दल एमालेका सांसदसमेत रहेका नेता रावले त्यसलाई उपहासको संज्ञा दिएका हुन्।

















