काठमाडौं। जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्।
१० जना पूर्वउपकुलपतिले विज्ञप्ति जारी गरी कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पाउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् ।
‘सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस्’ उपकुलपतिहरुको विज्ञप्तिमा भनिएको छ ।
पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यको विज्ञप्तिमा जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको उल्लेख गरिएको छ ।
‘कोभिड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो’ विज्ञप्तिमा भनिएको छ ।
पूर्वउपकुलपतिहरुले कमिशनखोरको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्टा भएको जनाएका छन् ।
६५ वर्षमाथिका ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता पुगे पनि सरकारले दोस्रो डोज खोप व्यवस्था गर्न सकेको छैन।
उनीहरूले जनताको अभिभावकको भूमिकामा सरकार असफल भएको पनि जनाएका छन् । प्राथमिकता तोकिँदा पनि सामाजिक न्यायको कदर नगरिएको र सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान नदिएको उनीहरूको भनाइ छ ।


















