सन् २०२१ अन्त्यतिर अन्य देशलाई खोप निर्यात गर्न सकिने : सेरम

69

काठमाडौँ – भारतको खोप उत्पादक सेरम इन्स्टिच्यूड अफ इन्डियाले कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२१ ) को अन्त्यतिर मात्रै अरु देशमा निर्यात गर्न सकिने सम्भावना रहेको जनाएको छ।

सेरमले मंगलबार बेलुका विज्ञप्ति निकालेर कोभ्याक्स अन्तर्गत र अरु देशले अर्डर गरे अनुसारको खोपको वर्षको अन्त्यतिर मात्रै दिन सक्ने सम्भावना रहेको उल्लेख गरेको हो।

सेरमका प्रमुख कार्यकारी अधिकृत अदार पूनावालाले उत्पादन बढाउनका लागि निरन्तर प्रयास भइरहेको र सो क्रम जारी रहने उल्लेख गरेका छन्। उनले पहिलो प्राथमिकता भारतलाई नै दिने पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। तर विश्व स्वास्थ्य संगठनको पहलमा विश्वका गरिब देशहरुमा पनि खोपको पहुँच पुर्‍याउनका लागि थालिएको पहल कोभ्याक्स अन्तर्गतको खोप तत्काल उपलब्ध गराउन सकिने अवस्था नरहेको उनले बताएका छन्।

सेरमको विज्ञप्तिमा भनिएको छ, ‘कोभ्याक्स तथा अरु देशहरुले अर्डर गरेका खोपहरु यो वर्षको अन्त्यतिरबाट वितरण गर्न सकिने आशा गरेका छौँ।’ कोभ्याक्स अन्तर्गत अक्सफोर्ड एस्ट्राजेनेका खोप भारतको सेरम इन्स्टिच्यूडले उत्पादन गर्ने र विश्वका १९० देशमा पठाउने तयारी भए पनि अहिले रोकिएको छ। कोरोना भाइरसको दोस्रो लहरका कारण अति प्रभावित भएको भारत हाल विश्वव्यापी महामारीको इपिसेन्टरका रुपमा रहेको छ।

भारतमै खोपको अभाव भएको भन्दै सरकार तथा सेरमको आलोचना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here