क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड टेस्ट, स्वाबबाट १५७ को परीक्षण

86

काठमाडाैं –  प्रदेश ५ का विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड डायगोनिस्टक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयले शुक्रबारदेखि प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टाइनमा बसेकाहरुको आरडिटीमार्फत परीक्षण थालेको जनाएको छ।

क्वारेन्टाइनमा दुई सातासम्म बसेकाहरुको दू्रत रुपमा कोरोना परीक्षण गरी नेगेटिभ देखिए पुनः एक साता होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको समेत प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजेन्द्रकुमार गिरीले जानकारी दिए। प्रदेशमा अहिले २ हजार ४ सय ३४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यी सबैको आरडिटीबाट परीक्षण गर्नका लागि ६ वटा टोली जिल्लामा खटिएका छन्।

प्रदेश ५ मा १५७ को नेगेटिभ रिपोर्ट

कोरोना संक्रमितका लागि विशेष उपचार गर्ने गरी स्थापना गरिएका ४ वटा र अन्य ४८ वटा अस्पतालमा भने आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ। त्यहाँबाट कोरोना आशंकित बिरामीको भने स्वाब संकलन गरेर परीक्षण हुँदै आएको छ। प्रदेश ५ मा १ सय ९१ जनाको स्वाब संकलन भएको छ।

यसमध्ये १ सय ५७ जनाको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरीले जानकारी दिए। उनका अनुसार ३४ जनाको रिपोर्ट आउन बाँकी छ। प्रदेशका ४ वटा कोरोना विशेष अस्पताल र अन्य अस्पतालमा गरी ७ जना मात्रै आइसोलेसनमा छन्।

कोरोनासँग मिल्दो लक्षण भएका र ज्वरो, श्वासप्रश्वास जस्ता समस्या बढी देखिएका बिरामीलाई आशंकामा आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्ने गरिएको छ। अहिले प्रदेशस्तरमा स्थापना भएको जनस्वास्थ्य प्रयोगशालाका कारण परीक्षण चाँडो हुन थालेको छ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ६८ स्वाब संकलन भएको छ। यसमध्ये ५० जनाको नेगेटिभ रिपोर्ट आएको छ। हालसम्म प्रदेश ५ मा कसैलाई पनि कोरोना संक्रमण भेटिएको छैन। प्रदेश ५ का १२ वटै जिल्लाबाट स्वाब ल्याएर कोरोना परीक्षण गर्ने गरिएको छ। प्रदेश सरकारलाई बुटवलको एक निजी प्रयोगशालाले रियल टाइम पिसिआर मेसिन प्रदेश सरकारलाई प्रदान गरेको छ। यो मेशिनबाट कोरोना परीक्षण चाँडो हुन्छ। अहिले भैरहवास्थित प्रयोगशालामा पिसिआर मेसिनबाट परीक्षण हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here