काठमाडाैं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखंलाबद्ध रूपमा प्रहार भएको जिकिर गर्दै विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक काम गरेको भन्दै तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्नुपर्नेमा जोड दिएका छन् ।
संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील पनि साझा पार्टीले आह्वान गरेको छ ।
वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षडयन्त्रको निरन्तरता भएको विवेकशील पार्टीको ठहर छ ।


















