काठमाडौं । विवेकशील साझा पार्टीले विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त गरेका छन् । विवेकशील साझाको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन कदम मानवीय संवेदनाहीन क्रुरता भएको निष्कर्ष निकाल्दै संसद ब्युताउँने विश्वास व्यक्त गरेको हो ।
साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर कोभिड महामारीमा ओली भण्डारीले मानवीय संवेदनाहीन कदम चालेको बताएका हुन् । साथै विवेकशील साझाले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता सञ्चालन गर्ने ओली र भण्डारीको पुरानै आकांक्षाको सुनियोजित निरन्तरता भएको पनि टिप्पणी गरेको छ ।
‘सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यसपटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेछ भन्ने विवेकशील साझा पार्टीको विश्वास छ’, प्रवक्ता पाठकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रूरता हो।’
साथै विवेकशील साझा पार्टीले अहिलेको अवस्थामा कोभिड विरुद्धको खोप सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएको छ ।

















