जसपाका नेताहरु आलाकाँचा केटाकेटी जस्ता छैनन् भन्ने कुरा सञ्चार माध्यमहरुले बुझ्न जरुरी छ । ओलीले ‘अफर’ गरेपछि ओलीसित मख्ख पर्ने, देउवा, प्रचण्डले अफर गरेपछि उनीहरुसितै सति जाने अवस्थामा मिडियाहरुले प्रस्तुत गरिरहेका छन् जसपाका नेताहरुलाई ।
जसपाका अध्यक्ष महन्थ ठाकुरले पहिलो संविधानसभाअघि नेपाली कांग्रेस त्यागेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका हुन् । त्यसैले कांग्रेसका नेताहरुलाई ठाकुरले नबुझेका होलान् भन्ने ठान्नु कमजोर आंकलन र बिश्लेषण हो । नेपाली कांग्रेसमा रहँदा पनि महन्थ ठाकुर त्यस पार्टीमा रहेका सबै नेताहरु भन्दा निष्ठावान र चरित्रवान नेताका रुपमा आफ्नो स्थान बनाएका थिए । त्यसैगरी डा. बाबुराम भट्टराईलाई नचिन्नेहरु नेपालको राजनीतिमा चासो राख्नेहरु मध्ये पक्कै नहोलान् । माओबादी पार्टीमा दोस्रो स्थानको नेतृत्वको हैसियतलाई परित्याग गरेर नयाँ सोचका साथ नयाँ संगठन निर्माण अभियानमा लागेका ब्यक्तित्व भएकाले कुनै प्रलोभनले बाबुरामलाई पनि आकर्षित गर्ने सम्भावना देख्नु सरासर गलत दृष्टिकोण हो ।
नेपालको राजनीतिमा मधेशकेन्द्रित दलबाट धेरै नेताहरु मन्त्री बनिसकेका छन् । मन्त्री बन्नु मात्र ठूलो कुरा होइन भन्ने विषय बारे सबै नेताहरु जानकार छन् । नेताहरु मन्त्री बन्नु वा प्रधानमन्त्री नै बन्नु ठूलो कुरा हुँदैन । महत्वपूर्ण कुरा देशको समृद्धि र नेपाली जनताको जीवनस्तर माथि उठाउनका लागि केही गर्न सकिने अवस्था अहिले छ कि छैन भन्ने कुरातर्फ ध्यान पु¥याउन आवश्यक हुन्छ । यो सवालमा जसपाका नेताहरु कमजोर छैनन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ । पटक—पटक मन्त्री पदको अवसर प्राप्त हुँदा पनि महन्थ ठाकुरले कहिल्यै त्यसमा रुचि देखाएनन् । अरु नेताहरुलाई मन्त्री पदमा जिम्मेवारी सम्हाल्न पठाएर मधेशी जनताका समस्यालाई जवरजस्त रुपमा उठाउन लगाए । यसबाट नत मधेशी जनताको समस्या समाधान भयो न मधेश केन्द्रीत राजनीति नै बलियो बन्न पुग्यो । दुवै कोणबाट राजनीति गलत मोडमा गएको निश्कर्ष निकालेर नै संगठन बलियो बनाउने अभियानमा लागेको स्पष्टै छ । त्यसैगरी डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भैसकेका ब्यक्ति हुन् र तुलनात्मक रुपमा देशका प्रधानमन्त्री भएका अन्य सबै पार्टीका नेताहरु भन्दा असल भूमिका यिन्को कार्यकालमा रहेकै हो भन्ने कुरा सबैलाई जानकारी भएको विषय हो । त्यसैले प्रधानमन्त्री ओली वा प्रचण्ड र देउवाले यी दुबै र जसपाका अन्य सबै नेताहरुलाई कुनै प्रलोभनमा वा प्रभावमा फसाउन सक्ने कमजोर अवस्थामा रहेका देख्नु र बिश्लेषण गर्नु स्वयम् उसैको कमजोरी हुनेछ ।
सत्तासीन नेकपा विघटनसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने लगभग पक्कापक्की नै छ । ऊ केवल उपयुक्त मौकाको खोजीमा छ । अर्कोतिर चार दशकदेखि सहयात्रामा रहेका आफ्नै पार्टीका माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुसँग ओलीको सम्बन्ध आगो र पानीको जस्तो बन्न पुगेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता टिकाउने एउटै मात्र बाटो जसपाका नेताहरुलाई देख्नु स्वाभाविक हो । तर यसबाट जसपालाई फाइदा वा नोक्शानी के हुन्छ भन्ने कुरा नबुझेर केवल जसपा सत्तामा जान्छ भन्ने सतही विश्लेषण गर्नु मूर्खता हो ।
प्रधानमन्त्री केपी ओली अहिले कांग्रेस, माओवादी र आफ्नै पार्टीका नेताहरुको घेराबन्दीमा छन् । यो घेराबन्दी ओली आफैले संविधान विपरित गएर प्रतिनिधिसभाको विघटन गरेर निम्त्याएका हुन् । विघटनलाई सर्वोच्च अदालतको निर्णयले बदर गरिदिए पछि ओलीको अवस्था अस्थिर बन्न पुगेको छ । ओलीमा थोरै पनि नैतिकता हुन्थ्यो भने उनले प्रधानमन्त्री पदबाट राजिनामा गरेर नयाँ सरकार गठनको बाटो खुल्ला गरिदिनु पर्दथ्यो । तर ओलीले आफ्नो नैतिकता देखाउन नसक्दा नेपालको राजनीतिक स्थिति जटिल बन्न पुगेको छ ।
प्रधानमन्त्री ओलीले दुइटा विकल्प सोचिरहेको देखिन्छ । उनको लागि पहिलो विकल्प हो, कुनै सानो दलको समर्थनमा प्रतिनिधिसभाको यो कार्यकालभरि आफैं प्रधानमन्त्री बन्ने । दोस्रो विकल्पका रुपमा आफूअनुकुल प्रधानमन्त्री बनाएर प्रचण्डलगायतका आपूm विरुद्ध घेराबन्दी गर्नेहरुलाई सरकारबाहिर राख्ने । यसको लागि ओलीले उपयुक्त पात्रको रुपमा जसपालाई चयन गर्नु स्वाभाविक हो । तर जसपाले आफ्नो राजनीतिक इतिहास र राजनीतिक भविष्यलाई ध्यान नदिएर ओलीको आवश्यकताका लागि राजनीतिक रुपमा आत्महत्या गर्ने कुरा हुँदैन । महन्थ ठाकुर वा डा. बाबुराम भट्टराई लगायतका जसपाका शीर्ष नेताहरुले पार्टीको नाम राख्दा खेरी नै संविधानमा लेखिएको गन्तव्य समाजवादलाई मध्यनजर गरी नाम राखेका छन् । पार्टीको नाम अनुसार काम यस पार्टीका लागि नै आवश्यक छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
समाजवादमा देशलाई रुपान्तरित गर्न सकियो भने मधेशी जनताको लागि मात्र होइन समग्र नेपाली जनताको खुशीका दिनहरु आउनेछन् । समाजवादको परिकल्पना गरेरैं जसपाका नेताहरुले पार्टी एकता गरेका हुन् । पार्टी एकता गर्ने क्रममा साना तिना स्वार्थलाई महत्वदिएर सत्तासीन हुने कुराले प्राथमिकता पाउन हुँदैन भन्ने सवालमा जसपाका नेताहरु सचेत छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
प्रधानमन्त्री केपी ओली आफ्नो बचनमा इमान्दार भईदिएका भए दुईतिहाई बहुमतको नेतृत्व पाएका थिए । त्यस अवस्थामा तत्कालीन सत्तासाझेदार दल संघीय समाजवादी पार्टीसँगका प्रतिबद्धताहरु पूरा गर्ने तर्फ उनले अवश्य पनि ध्यान पु¥याएका हुन्थे । ओली इमान्दार छैनन् भन्ने कुरा यसैबाट पनि स्पष्छ हुन्छ । ओलीले सत्ता साझेदार दल संघीय समाजवादीसँगै पार्टी एकीकरण गरिएको दल माओवादी केन्द्रसँग पनि आफ्नो इमान्दारिता देखाएनन् । आधा—कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारीका साथ पार्टी एकीकरण गरेर बहुमत प्राप्त गरेका ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेकै कारणले आजको अवस्था सृजना भएको हो । त्यसैले सत्तामा जाने चर्चाले जसपाका नेताहरु रमाएका होलान् भनेर राजनीतिक भविष्यवाणी गर्नु राजनीतिक विश्लेषकहरुका साथै सञ्चारकर्मीहरुको कमजोरी हो । जसपाका नेताहरुले ओलीको आश्वासनमा विश्वास गर्नु जति धोका अरु केही हुने छैन भन्ने कुरा राम्रोसित बुझेका छन् । -जनधारणा साप्ताहिकबाट


















