काठमाडौंमा बैंकका तीन शाखा मात्र खुल्ने

88

काठमाडौं। दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको हो। तिनले निषेधाज्ञा अवधिभर ललितपुरमा दुई र भक्तपुरमा एउटा मात्र शाखा खोल्न पाउने छन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको सूचनामा कोभिड–१९ को जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्नुपर्ने भनिएको छ। मंगलबारदेखि लागू हुने व्यवस्था अनुसार ‘ख’ विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एकरएक शाखा खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने तीनवटै जिल्लामा एक÷एक शाखा मात्र खोल्न पाउनेछन्।

कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ मा निषेधाज्ञा जारी भएयता बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए। यसले पनि भीड र चहलपहल नियन्त्रण नभएको र महामारी नियन्त्रणमा समस्या परेको ठानेर नयाँ व्यवस्था गरिएको बताइएको छ।

बैंकमा हुने भीड नियन्त्रण गर्न अघिल्लो साता ५० हजार रूपैयाँभन्दा कम निक्षेप नलिने निर्णय गरिएको थियो। ती प्रयास पनि कामयावी हुन नसकेपछि नयाँ उपाय खोजिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। बैंक तथा वित्तीय संस्थामा भीड लाग्दा एकातिर सुरक्षाकर्मीलाई नियन्त्रण गर्न कठिनाइ हुने र अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाका कर्मचारी नै संक्रमित हुने क्रम बढेको थियो।

साथै बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना भने दैनिक रूपमा वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेछ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here