काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । आफ्ना मागहरु पुरा हुँदै गएपछि समूह सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो ।
जसपाका नेताहरुले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले १० वटासम्म मन्त्रालय दिने आश्वासन दिएका छन् । हालसम्म मन्त्रालयको टुंगो भने लाईनसकेको जनाइएको छ ।
जसपाको महन्थ ठाकुर समूहका नेता शरतसिंह भण्डारीले बताएअनुसार मन्त्रालयबारे टुंगो भएलगत्तै जसपा सरकारमा सहभागी हुनेछ । उनका अनुसार यहि साताभित्रै सरकारमा सहभागी हुने सम्भावना छ ।
‘अहिले ८र१० मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जानेगरी छलफल चलिरहेको छ, कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन, कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा १र२ पटक छलफल भएको छ, मलाई लाग्छ, यो हप्ताभित्र सरकार जान्छौं होला’, सञ्चारमाध्यमसँग उनले भनेका छन् ।
आफ्ना थप मुद्दाहरु सम्बोधनको लाईनमा रहेको भन्दै सुनुवाई भएसँगै सरकारमा जान सजिलो हुने उनको भनाई छ ।
कारबाहीको तयारीमा उपेन्द्र समूह
प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा विरोध गर्ने भन्नेमा जसपा विभाजित भएको छ । जसपाको महन्थ ठाकुर समूह ओलीको पक्षमा छ भने उपेन्द्र यादव समूह ओलीको विपक्षमा ।
३२ सांसद भएको जसपाको बहुमत सांसद महन्थ ठाकुरको पक्षमा देखिएका छन् । तर, पार्टीभित्र केन्द्रीय कार्यकारिणी समितिमा भने महन्थ ठाकुर पक्ष अल्पमतमा छ ।
पार्टीको शक्तिशाली मानिएको केन्द्रीय कार्यकारिणी समितिको बलको आधारमा उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षमाथि कारबाही गर्ने तयारी थालेको छ । कार्यकारिणी बैठकमार्फत स्पष्टीकरण सोध्ने निर्णय गरेको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भए तत्कालै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
बहुमत सांसद आफुँ तर्फ पार्दै सरकारमा सहभागी हुने महन्थ समूहलाई उपेन्द्रले कस्तो कारबाही गर्लान् वा कारबाही गर्ने अवस्था रहला कि नरहला ? जुन निकै चाँसोको विषय बनेको छ । सरकारमा सहभागी हुने तयारी चल्दै गर्दा पार्टीभित्रको बहुमत पक्षले थालेको तयारीलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।


















