विपन्न परिवारलाई खाद्यान्न वितरण

131

डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण समस्यामा परेका यहाँका २७ विपन्न घरपरिवारलाई राहतका लागि खाद्यान्न वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले निषेधाज्ञाका समयमा हातमुख जोर्न समस्यामा परेका घरपरिवारलाई खाद्यान्नलगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।

उनीहरुलाई प्रतिपरिवार एक बोरा चामल, दुई किलो दाल, दुई किलो नुन, साबुन, स्यानिटाइजर, दुई लिटर खानेतेल, मास्कलगायतका सामग्री वितरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लोकबहादुर थापाले जानकारी दिए ।

यसैगरी उक्त संस्थाले जिल्ला अस्पताललाई समेत कोरोना महामारीबाट बच्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जिल्ला अस्पताललाई पाँचवटा पल्स अक्सोमिटर, २० पिपिई सेट, १० डिजिटल थर्मोमिटर, एक थान थर्मलगन, पाँचवटा स्टिमर, पाँच जोर गमबुट, ५० वटा फेसशिल्ड, १० बोतल स्यानिटाइजर, दुई हजार सर्जिकल मास्कलगायतका सामग्री हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here