काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा अविरल वर्षापछि आएको बाढीमा परेर बेपत्ता भएका ७ जनाको सब फेला परेको छ । ती मध्ये ६ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु भएका सातमध्ये चौतारा साँगाचोकगढी नगरपालिका निवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल, हेलम्बु–२ का ४२ वर्षीय गणेश ज्योति, ३१ वर्षीय माधव भण्डारी, वडा नं. ३ की ६५ वर्षीय टीकामाया खड्का, वडा नं. ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं ६ का ३५ वर्षीय चेङा तामाङको पहिचान खुलको छ भने एक महिलाको पहिचान खुल्न सकेको छैन । बाढीले बगाएर बेपत्ता भएका उनीहरुको इन्द्रावती नदी किनारमा शब फेला परेको थियो ।

त्यसैगरी बाढीका कारण मेलाम्ची क्षेत्रका मात्रै पाँचसय मानिस विस्थापित भएका छन् भने हेलम्बुमा मानविय क्षतिको विवरण आएपनि अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।
प्रहरीका अनुसार बाढीमा फसेका ४२ जनाको उद्धार गरिएको छ । ती मध्ये ३७ जना मेलाम्ची खानेपानप् आयोजनामा कार्यरत सिनो हाइड्रोका कर्मचारी रहेका छन् ।

त्यस्तै बाढीका कारण मेलाम्ची बजारमा रहेको होटल रोजको छतमा फसेका दुईजनाको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत् सकुसल उद्धार गरेको छ । साथै बाढीमा बेपत्ता भएका अन्यको उद्धार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।


















