काठमाडौं । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं बाहिर पनि खोप केन्द्रका विषयमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ। उपत्यकाबाहिर खोप पठाउने काम बाँकी रहेकाले अबको केही दिनमा केन्द्रका विषयमा सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। ती कर्मचारीका अनुसार उपत्यकाबाहिर पनि यसअघिका खोप केन्द्रबाट नै खोप लगाउने काम हुने सम्भावना रहेको जानकारी दिए।
अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ। यस्तै, मन्त्रालयले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता ९वर्ग क र ख० भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ।


















