काठमाडौं । नेकपा (एमालें) स्थायी कमिटीका सदस्यहरुले अनौपचारिक छलफल गर्दै पार्टी एकताको प्रयासलाई अगाडि बढाउने निर्णय गर्नुभएको छ । विघटित कार्यदलका सदस्यहरु सहभागी रहनुभएको बैठकमा यसअघि भएको दश बुँदे सहमतिकै आधारमा अघि बढ्ने विषयमा छलफल भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा आज विहान भएको छलफलमा कार्यदल औपचारिक रुपमा नरहे पनि अनौपचारिक रुपमा भए पनि पार्टी एकताका विषयमा निरन्तर छलफलमा जुट्ने नेताहरुले निर्णय गर्नुभएको छ । “दश बुँदे सहमतिकै आधारमा एमालेलाई एकतावद्ध बनाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं, त्यसैले प्रयासरत छौं” नेता नेम्वाङले भन्नुभयो ।
सर्वोच्च अदालतको फैसलाले धेरै विषय भत्काएको भएपनि आफूहरु त्यसलाई कार्यान्वयन गर्न बाध्य रहेको बताउनुहुँदै नेता नेम्वाङले भन्नुभयो, “सिङ्गो एमालेलाई गोलबद्ध बनाउने हिसावले छलफल गरिरहेका छौं, हामी यसलाई एकतावद्ध बनाउन सक्छौं ।”
नेता माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले एमालेको एकता जोगाउने सन्दर्भमा नेताहरुबीच छलफल र भेटघाट भएको जानकारी दिनुभयो । बैठक अनौपचारिक रुपले भएपनि महत्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो । “पार्टीप्रति आम पार्टी पङ्ति चिन्तित छ, त्यही चिन्तालाई ध्यान दिएर हामीले प्रयत्न गरिरहेका छौं” नेता विष्टले भन्नुभयो, “पार्टी जोगाउन भेटघाट, छलफल गर्न आवश्यक छ, त्यही प्रयासका लागि हामीले छलफल थालेका हौं ।”
बैठकमा नेताहरु नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीमबहादुर रावल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतको सहभागिता रहेको नेताहरुले बताउनुभएको छ । गोरखापत्र


















