सेन स्मृति दिवसका अवसरमा ४ पत्रकार पुरस्कृत

145

काठमाडौं । पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ।
सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज महेश्वर दाहाल र संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यलाई पुरस्कृत गरेको छ।
५० हजार राशी रहेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार आचार्यलाई २०७८ सालको र दाहाललाई २०७९ सालको पुरस्कार प्रदान गरिएको सेन्टरका अध्यक्ष विष्णु सापकोटाले बताउनु भयो। गत कोभिड–१९ का कारण पुरस्कार स्थगित गरिएको थियो।
त्यसैगरी वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा स्थापना गरिएको शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कारबाट संस्थापक सदस्य तथा निवर्तमान उपाध्यक्ष बलराम थापा र सेन्टरका निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनलाई पुरस्कृत गरिएको छ। थापालाई २०७८ र पुनलाई २०७९ सालको पुरस्कार प्रदान गरिएको हो। शक्ति–तारा स्मृति पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको सेन्टरले जनाएको छ।
पुरस्कार प्रदान गर्नका लागि प्रेस सेन्टरले नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा गोविन्द देवकोटा र गंगा बराल सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो।
इच्छुकको २० औं स्मृति दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा शुक्रबार बिहान आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहमा पुरस्कृत पत्रकारहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रचण्डले जनपक्षीय पत्रकारिता, प्रगतिवादी साँस्कृतिक आन्दोलनमा सेनले खेलेको भूमिका उच्च र अतुलनीय रहेको बताउनु भयो। सेनको आदर्श, नैतिक बल र वर्गप्रतिको निष्ठाले जो कसैलाई पनि नतमस्तक बनाउने भन्दै अध्यक्ष प्रचण्डले सेनको बलिदानीले पार्टी, क्रान्ति र समग्र आन्दोलनलाई अपुरणीय क्षति पु¥याएको बताउनु भयो।
सो अवसरमा प्राध्यापक गोपिन्द्र पौडेल र पत्रकार गोविन्द आचार्यले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिता र प्रगतिवादी साँस्कृतिक आन्दोलनमा रहेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रमा सेनको योगदान र बलिदानका बारेमा बोल्नुभएको थियो।
जनसाँस्कृतिक महासंघ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको समारोहको सञ्चालन प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here