भारतमा लकडाउनका कारण सुटकेसमा साथी लुकाउनेदेखि ड्रोनबाट सुर्ती पठाउनेसम्म

181

एजेन्सी – कोरोना भाइरस महामारीको लकडाउनका कारण अहिले विश्वको अधिकांश हिस्सा प्रभावित छ र मानिसहरूको सामाजिक जीवन प्रभावित बनिसकेको छ । आफ्नो घरमा साथीसंगी बोलाउने, जमघट गर्ने तथा रमाइलो गर्ने भन्ने कुरा एकादेशको कथा बन्न लागिसक्यो ।

तर आखिर जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखान त्यसै बनेको होइन । जब मान्छेले कुनै कुराको इच्छा राख्दछ, त्यसलाई प्राप्त गर्नका लागि जुन हदसम्म पनि जाँदो रहेछ ।
भारतको बैंगलोरमा हालै एउटा यस्तै घटना भएको छ, जसका कारण पुलिस पनि अचम्ममा परेको छ ।
लकडाउनका कारण साथीलाई अपार्टमेन्टमा बोलाउन नपाएपछि एकजना युवकले सुटकेसभित्र साथीलाई कोचेर आफ्नो अपार्टमेन्टमा छिराउने कोसिस गरेका छन् ।

उता, भारतको गुजरातमै एकजना व्यक्तिलाई सुर्तीको तलतलले सतायो । सुर्ती किन्ने पसल बन्द थिए । उनले साथीसँग आफ्नो पीडा सुनाए । आखिर साथीहरू काम आउने अप्ठेरोमा त हो । उनका साथीले ड्रोनबाटै उनको घरसम्म पान पठाइदिए ।

बैंगलोरको एक अपार्टमेन्ट भवनमा बाहिरी व्यक्तिहरूलाई आउन प्रतिबन्ध लगाइएसँगै एक १७ वर्षका युवकले आफ्नो साथीलाई ल्याउन अनौठो तरिका अपनाए । उनले सुटकेसमा कोचेर साथीलाई आफ्नो अपार्टमेन्टमा ल्याए ।

समाचार अनुसार, शनिबार रातको २ बजे ती युवक एउटा ठूलो सुटकेस बोकेर स्कुटरबाट ओर्लिए । त्यसपछि उनले आफ्नो साथीलाई बोलाए । स्कुटरमा बसाएर आफ्नो अपार्टमेन्ट कम्प्लेक्ससम्म पुर्‍याए । अपार्टमेन्ट बाहिर पुगेसँगै उनले सुटकेस खोले र साथीलाई उक्त सुटकेसभित्र छिर्न लगाएर सुटकेस बन्द गरे । त्यसपछि उनले सुटकेस गुडाउँदै अपार्टमेन्टभित्र छिर्न थाले ।

उनको हर्कत देख्दा अपार्टमेन्ट कप्लेक्सका गार्डलाई केही शंका लाग्यो । उनले तत्कालै अपार्टमेन्ट कम्प्लेक्सको व्यवस्थापनलाई खबर गरे । तत्कालै प्रहरी आएर उनलाई नियन्त्रणमा लियो । जब उनको सुटकेस खोलियो त्यहाँभित्र उनको साथी फेला परेपछि पुलिस पनि तीनछक पर्‍याे । १७ वर्षका ती किशोर र उनका साथीसमेत नाबालिक भएको हुँदा उनीहरूमाथि कुनै कानूनी कारबाही नगरिएको र चेतावनी दिएर छाडिएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here