देशभर बलात्कार र घरेलु हिंसाका घटना बढ्याे

216

काठमाडौं। देशभर बलात्कार र घरेलु हिंसाका घटना बढेको पाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकले बलात्कार र घरेलु हिंसाका घटना बढेको देखाएको हो। गत साता सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ बलात्कारविरुद्ध २ हजार ५ सय ३४ वटा उजुरी परेका थिए। त्यसअघि आर्थिक वर्ष २०७६/७७ मा २ हजार १ सय ४४ वटा उजुरी परेकोमा यस वर्ष ३ सय ९० बढी उजुरी परेको हो।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार २ सय ३० र आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ८० वटा बलात्कारका उजुरी दर्ता भएका थिए। ‘नेपाल प्रहरीमा परेका उजुरीका आधारमा चार वर्षको तथ्यांकअनुसार महिलामाथि हुने हिंसाका घटना ह्वात्तै बढेको छ,’ नेपाल प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले ले भने, ‘पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग र आत्महत्याका घटना १८ देखि २५ प्रतिशतसम्मले वृद्धि भएका छन्।’

तथ्यांकअनुसार चार वर्षमा बलात्कारका घटना १८ दशमलव १९ प्रतिशतले बढेको छ। अधिकांश बलात्कारका घटनामा चिनजानका व्यक्ति संलग्न रहेको पाइएको छ । प्रहरीको तथ्यांकअनुसार प्रतिदिन औसतमा बलात्कारसम्बन्धी घटनाका सात उजुरी दर्ता हुने गरेको छ । बलात्कारका पीडितमध्ये १० वर्षमुनिका ११.९८ प्रतिशत, ११ देखि १८ वर्षका ५३.२४ प्रतिशत र ६० वर्षमाथिका १.४८ प्रतिशत छन् । नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here