दाङमा भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार

244

दाङ । लामो समय आफुले पालेको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेका छन्।

साे भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा निवासी शिव सुवेदीले भालेको धार्मिक विधिपूर्वक अन्तिम संस्कार गरेका थिए । भालेको दाहसंस्कार गर्न सिङ्गो गाउँबासी मलामी नै गए । आफुले माया गरेर लामो समय पालेको भाले मरेपछि उनी शोकमा नै डुबे ।

हिन्दु परम्परा अनुसार सुवेदीले भाले मरेपछि कपाल फाले र नुन पनि छाडे । सुवेदीले मानिस मरेपछि गरिने धार्मिक विधि भाले मर्दा पनि पुर्याए । भाले मरेपछि सेतो कपडा लगाएर काजकिरिया पनि गरे । भाले साउन १६ गते मरेको थियो।  भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले जनाए । ‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्यजस्तै मानेर पाल्यौँ,’ उनले थपे, ‘त्यसैले गाउँका सबैको सल्लाहअनुसार नै दाहसंस्कार गर्‍यौँ।’ सुवेदीले भाले मरेपछि गाउँका २०–२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए।

‘हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गर्यौ’ सुवेदीले भने, ‘कपाल नै खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाज पनि धेरै भावुक बनेको उनको भनाइ छ । भाले २० वर्ष पालेका कारण सुख दुखको साथी र परिवारको सदस्य जस्तो भइसकेकाले पनि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीले बताए।

आफुसँगै घरमा पालिने पशुपन्क्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएको र आफुले त्यो किसिमको सन्देश सबैलाई दिन खोजेको बताए।

यस कारण सुवेदीले पालेका थिए भाले ? 

वास्तवमा सुवेदीको लामो समय भाले पाल्ने कुनै योजना थिएन ।  उनका बुबा ‘रिटायर्ड’ सरकारी शिक्षक हुन् । बुबाको पेन्सन घरमै आएर दिने घोराहीका शिक्षक डेमकान्त अधिकारीलाई खुवाउन त्यो भाले उनले पालेका थिए। तर, त्यो भाले पालेको पाँच–सात वर्षसम्म पनि शिक्षक अधिकारीलाई खुवाउने कुनै अवसर जुरेन। त्यति वेलासम्म भाले पालेको १४ वर्ष भइसकेको थियो । आफुले पालेको भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने प्रण गरे र सो अनुसार पाले पनि ।

भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जाल जताततै निकै चर्चा पायो।  ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ,’ उनले भने, ‘तर, धेरैले खर्चिलो हुन्छ भनेपछि त्यो सोच छाडे ।   लामो समय भाले पाल्दाको अनुभव सँगाल्न पाएको पनि उनले बताए । ‘मैले यो भाले लामो समय पालेँ, केही नयाँ अनुभव पनि सँगालेको छु’ उनले भने‘ भालेले खुर्सानी खान्थ्यो, त्यसले गर्दा पनि उसको रोगप्रतिरोधी शक्ति बढेको अनुभूति भयो, धेरैले त्यही भन्नुहुन्छ ।’
घरमा पालेका धेरै कुखुरा पटक–पटक रोगले मर्दा पनि त्यो भाले रोगले पनि छोएको थिएन । केही समय अघि मात्रै घरका सबै कुखुरा मरे पनि त्यो भालेलाई केही भएन । घरमा त्यही भाले मात्रै बचेको थियो । त्यही भाले नै मरेपछि अहिले घरमा एउटा पनि कुखुरा नभएको उनी बताउँछन् ।

मर्नु भन्दा ४/५ महिना पहिलेदेखि नै भाले विरामी थियो । कानमा घाउ भएर किरा परेका थिए । प्राविधिक ल्याएर ती किरा मार्ने औषधी खुवाएपछि केही समय बाँच्न सफल भएको थियो । भालेको एउटा आँखा पहिल्यै फुटेको थियो । पछिल्लो समय भाले धेरै बुढो भएर पनि होला, घरको भित्र बाहिर पनि गर्न नसक्ने भएकाले मान्छेले नै बाहिरभित्र गराउनुपर्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here