समस्याको सम्बन्धमा यस्ताे धारणा सांसदहरुले राखे

78

काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराए।

शून्य समयमा बोल्दै सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरुलाई बर्खास्त गर्ने र विद्यार्थीलाई कुटपिट गरी तनाव सिर्जना गरिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले लुम्बिनी प्रदेश सांसद विमला वलीलाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाइएको भन्ने घटनाको यथार्थताको पनि जानकारी माग गरे।

‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सांसद विमला वली बन्धक बनाएको खबर आएको छ। यदी त्यो हो भने निन्दनीय कार्यको भत्र्सना गर्दै त्यसको यथार्थ के हो, जानकारी पाउँ’ उनले भने।

सांसद विमला राई पौड्यालले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौँ विद्यार्थीको भविष्य चौपट परेको भन्दै शिक्षा र स्वास्थ्यका विज्ञहरु बसेर कक्षा १२ को परीक्षालाई सुचारु गर्ने सम्बन्धमा गृहकार्य गरी परीक्षा सुचारु गराउन सरकारसँग माग गरिन्। ‘१२ कक्षाका विद्यार्थीहरुको परीक्षा स्थगन भएको सूचना गरेको छ नेपाल सरकारले। पोहोर साल नै हुनुपर्ने परप्क्षा अहिले पनि स्थगत भएको छ र लाखौँ विद्यार्थीको भविष्य चौपट भइराखेको छ। एकदमै अन्यौल छ। कति विद्यार्थीहरु बाहिर पढ्न जाने विद्यार्थीहरुपनि थला परिराखेका छन्’ उनले भनिन्।

सांसद शान्तिकुमारी अधिकारी जिसीले बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको सडक खण्ड पीच नहुँदा जनताले सास्ती भोग्नुपरेको भन्दै ०७८ सालभित्रै काम सक्नेगरी सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग माग गरिन्।

सांसद शेरबहादुर कुँवरले महाकाली नदीको तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई ड्रोनमार्फत खोज्ने भनिएको भएपनि भारतीय सिमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको भन्दै सरकारले भारत सरकारसँग गरेको पहल सदनलाई जानकारी गराउन माग गरे।

‘सरकारले गठन गरेको छानविन समिति घटनास्थलबाट फिर्ता भएको, भारतीय सिमा क्षेत्रमा ड्रोन उडान गर्न नदिएको समाचार आएको छ । के यो सत्य हो ? यदी यो सत्य हो भने सरकारले भारत सरकारसँग यो विषयमा के पहल गरेको छ, सदनलाई जानकारी चाहियो’ उनले भने।

सांसद सिंहबहादुर विश्वकर्माले रत्नपार्कमा रहेको अस्थायी बसपार्क हटाउँदा दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लाबाट आउने सर्वसाधारणहरु गन्तव्यमा पुग्न नपाइ अलपत्र परेका भन्दै यातायात व्यवस्थालाई सरल र शुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

‘काठमाडौं महानगरपालिका रत्नपार्कमा रहेको अस्थायी बसपार्क उठाइदिदाँ १७ वटा रुट, दैनिक १६ सय सवारी साधनसहित पूर्वका दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाबाट आउने लामो दुरीका सयौँ सवारी साधनहरु अलपत्र भए। गाउँबाट आउने सर्वसाधारणलाई आफ्नो गन्तव्य पुग्न समस्या खेप्नुपरेको छ । ट्राफिक व्यवस्था समेत खल्बल्लिएको छ। यातायात व्यवस्थालाई सरल र शुलभ, छिटोभन्दा छिटो व्यवस्था गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु’ उनले भने।

सांसद सुमित्रा कुमारी बिसीले रुकुमपश्चिम त्रिवेणी गाउँपालिकामा मनकुमारी खड्काको हत्या भएको दुईहप्ता पुगिसकेको उल्लेख गर्दै यस घटनाको यथार्थ पत्ता लगाइ दोषीलाई कारबाही गर्न माग गरिन्।  यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले सदनमा जानकारी गराउनुपर्ने उनको माग थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here