काठमाडाैं । एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रु. २६५ अर्ब पु¥याउन सफल भएको छ । यो २७ वटै वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै रहेको बैङ्कको दाबी छ ।
यसै गरी बैङ्कको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रु. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप सङ्कलन रु. २९८ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैङ्कहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैङ्क निक्षेप वृद्धि करिब रु. २१.७३ अर्बको तुलनामा यस बैङ्कको वृद्धि करिब ४.१४ गुणा रहेको छ ।
बैङ्कले आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैङ्क सफल भएको छ । बैङ्कको कुल कर्जामा रु. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैङ्कले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । बैङ्कले आ.व. २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक सङ्ख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैङ्कको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू बनाएको छ ।
खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैङ्कहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेपमा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ । बैङ्कको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आ. व. २०७६/७७ मा ७०ः३० रहेको थियो ।


















