काठमाडौं । भक्तपुरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा प्रदायक संघले बुधबार नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काटिदिँदा समस्या उत्पन्न भएको दाबी गरेको छ।
त्यसक्रममा दूरसञ्चार उपकरणहरुमासमेत क्षति पुर्यादएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिइ इन्टरनेट सेवानै अवरुद्ध गराएको भन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ।
‘इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउदछौं’ विज्ञप्तिमा भनिएको छ।
दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर / उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद -१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको संघले जनाएको छ। ऐनमा कुनै व्यक्तिले बदनियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा सोसंग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानि नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो ब्यक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको संघले जानकारी गराएको छ।
दूरसञ्चार ऐनको दफा २१ र दफा ४२ को व्यवस्थाबारे नेपाल विद्युत प्राधिकारणलाई नेपाल दूरसंचार प्राधिकारणले जानकारी गराउँदा गराउँदै पनि यस्ता गैरजिम्बेवारपूर्ण क्रियाकलाप गरेकोमा इन्टरनेट सेवा प्रदायकहरु अच्चमित भएको विज्ञप्तिमा जनाइएको छ।
भक्तपुर वितरण केन्द्रको यस्तो क्रियाकलापले भरतपुरका दशौँ हजार आम उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिंग कारोबार गर्नबाट बन्चित हुन पुगेको संघले जनाएको छ। संघले दूरसञ्चार ऐन, २०५३ लाई उल्लङ्घन गर्ने जो कोहीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।


















