विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने

61

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलाई बजेट बाँडफाँट तथा विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम क्षेत्रका स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम क्षेत्रलाई विकास निर्माणको मूल प्रवाहमा समेट्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको अगुवाइमा जननिर्वाचित प्रतिनिधिमण्डलले देश विकासको मूल प्रवाहमा सुदूरपश्चिमलाई जोड्न आग्रह गर्नुभएको थियो । डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला पनि हो । त्यस अवसरमा सुदूरपश्चिम प्रदेशको विकास निर्माणसँगै भौतिक पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकाससम्बन्धी गतिविधिहरू पर्याप्त बजेटको अभावमा सुस्त बन्दै गएको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
धनगढी विमानस्थलको स्तरोन्नति, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य प्रारम्भ, सुुदूरपश्चिम मेडिकल कलेज स्थापना, डडेल्धुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण, भीमदत्त राजमार्ग र केआई सिंह राजमार्गको स्तरोन्नतिका लागि प्रधानमन्त्री देउवासमक्ष लिखित आग्रह गरिएको बताइएको छ ।

परशुराम नगरपालिकाका प्रमुख साउदले सुदूरपश्चिम विकास निर्माण तथा बजेट विनियोजनको दृष्टिकोणले केन्द्र सरकारबाट जहिले पनि उपेक्षित हुने गरेको बताउनुभयो । यतिबेला सुदूरपश्चिमको दुःख र पीडा बुझेका व्यक्ति पुनः प्रधानमन्त्री बन्नु भएकाले उल्लेखित समस्याको सुनुवाइ हुनेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो ।

त्यस्तै, डडेल्धुरादेखि गोठालापानी, खोड्पेदेखि चैनपुर बझाङ, महाकाली राजमार्गको सतबाँझदेखि दार्चुला खलङ्गा, सिलगढीदेखि अछाम मङ्गलसेन र साँफेबगर–बाजुरा मार्तडी सडकको अविलम्ब स्तरोन्नतिका लागि आग्रह गरिएको छ ।
मनसुनजन्य विपत् बाढी र पहिरोका कारण साँफेबगर–मार्तडी बाजुरा र खोड्पे–चैनपुर बझाङ सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनमा समस्या भएको छ । सडक पुनः निर्माण नहुँदा सर्वसाधारण घण्टौँ पैदल यात्रा गर्न बाध्य भएको गुनासो जनप्रतिनिधिहरूको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, डोटी, बाजुरा र बझाङ लगायत जिल्लाका नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई बधाई दिँदै राजनीतिक स्थायित्व, आर्थिक तथा सामाजिक परिवर्तनका लागि वर्तमान सरकारलाई सफल बनाउन आग्रह गर्नुभयो । Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here