आगामी चुनावमा कांग्रेसलाई विजयी गराउने अभियानमा

74

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा लाग्न जनसम्पर्क समितिका सदस्यहरुलाई आह्वान गरेका छन्।

नेपाली जनसम्पर्क समिति मुम्बईको कार्यालयमा शनिबार आयोजित भेटघाट कार्यक्रममा उपस्थित जनसम्पर्क समितिका सदस्यहरुसँग कांग्रेस उपसभापति निधिले यस्तो आह्वान गरेका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत् जारी गरिएको नेपालको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसलाई विजयी गराउन आवश्यक भएको उनले जनाए ।

बीपी कोइरालाले नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि समर्थन जुटाउन बम्बईमा नेपाली जनसम्पर्क समिति स्थापना गरेको गौरवमय इतिहास भएको स्मरण गर्दै  निधिले आगामी चुनावमा  रुख चिन्हलाई विजयी गराउन अहिलेदेखि नै आ-आफ्नो  जिल्ला र गाउँमा सम्पर्क गरी सक्रिय हुन सबैसँग अपिल गरेका थिए।

उनले गत निर्वाचनमा संघीय लोकतान्त्रिक प्रणालीप्रति इमान्दार नभएको नेकपाले जितेका कारण मुलुकमा भाँडभैलो मच्चिएको दाबी गरे। संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्नुपर्ने उनले उल्लेख गरे। प्रवासी नेपालीहरुको हकहितको लागि नेपाली कांग्रेसले सधैँ साथ दिँदै आएको र भविष्यमा पनि साथमै रहने उनले आश्वस्त पारे।

कार्यक्रममा निधिले जनसम्पर्क कार्यालयको जग्गासम्बन्धी मुद्दामा सहयोग गरिदिन कार्यक्रममा सहभागी महाराष्ट्रका राष्टवादी कांग्रेसका सचिव वृजेश त्रिपाठीसँग आग्रह गरे। निधिको सो आग्रहपछि राष्ट्रवादी कांग्रेसका सचिव त्रिपाठीले जनसम्पर्क समितिको जग्गा विवादसम्बन्धी मुद्दामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here